साताभरमा विदेशका नौ सय ६३ नेपालीमा कोरोना

कात्तिक १६, काठमाडौं ।
कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप नौ सय ६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो ।

सङ्क्रमति मध्ये चार सय ५० जना रोमानियामा रहेका नेपाली छन् । संघको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

यद्यपि यस साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन । विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार पाँच सय ६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ३९ हजार पाँच सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत सातासम्म १९ देशका दुई सय ८४ नेपालीको कोरोना सङ्क्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ ।

अनावश्यक यात्रा नगर्न आग्रह
सङ्घले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन शुरु भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न सङ्घले आव्हान गरेको हो ।

सङ्घ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गरेका छन् । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन अनुरोध गरेको छ । (रासस)