नेता विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारलाई कांग्रेसको आग्रह

कात्तिक १६, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारलाई आग्रह गरेको छ । प्रतिनिधिसभा सांसदसमेत रहेका विश्वकर्मा कोरोना संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले नेता विश्वकर्माको स्वास्थ्य बिग्रँदै गएको भन्दै उपचारमा सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी आग्रह गरेका हुन् । विश्वकर्माको स्वास्थ्य अवस्थाबारे खाँणले प्रधानमन्त्रीलाई टेलिफोन गरी जानकारी गराएको खाँणको सचिवालयले जनाएको छ ।

फोक्सोको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका विश्वकर्मालाई ग्राण्डी अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बताएको छ ।

खाँणले शनिबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि टेलिफोन गरी विश्वकर्माको उपचारमा सहयोग गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरी उहाँले नेता विश्वकर्माको उपचारमा गम्भीर बन्न र सहयोग गर्न आग्रह गर्नुभएको हो,’ खाँणको सचिवालयले भनेको छ ।

विश्वकर्मालाई कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना देखिएपछि उनी केहि दिन होम आइसोलेसन बसेका थिए । ज्वरो बढेको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी वीर अस्पताल र पछिल्लो पाँच दिनदेखि ग्राण्डी अस्पतालमा छन् ।

उनलाई आइसियुमा राखेर पनि उपचार गरिएको थियो । कात्तिक ९ गतेदेखि उनी अस्पतालमा छन् ।