बलात्कारको प्रतिकार गर्दा बालिकाको हत्या प्रयास

कात्तिक १७, सर्लाही ।
जिल्लाको पर्सा गाउँपालिका–५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि घाँटी रेटेर हत्या गर्न खोजेको घटना सार्वजनिक भएको छ ।

पीडित परिवारका अनुसार शुक्रबार दिउँसो बालिका खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ बर्षीय मुकेश मुखियाले बलात्कारको प्रयास गरेका थिए । बालिका चिच्याएपछि हँसियाले घाँटीमा आक्रमण गरेको र त्यही बेला मोटरसाइकलमा त्यही बाटो आइरहेका एक युवकले बालिकालाई बचाएको वडा अध्यक्ष उमेश यादवले बताए ।

त्यस दिन बालिकाका आमा बुवालाई कुकुरले टोकेपछि रेबिजबिरुद्वको सुई लिन सदरमुकाम मलगंवा अस्पताल गएका थिए । आमाबुवा मलगंवा गएपछि बालिका खाना खाएर सेक्टर बाँधको कुलो नजिकै घाँस काट्न गएकी थिइन् ।

उनी घाँस काटिरहँदा ती युवक साइकलमा उनको नजिकै आएका थिए । ‘शुरुमा तिम्रो घर कहाँ छ, कसको छोरी हौ, कति जना दिदी बहिनी र दाजुभाइ छौं ? भनेर ती युवकले बालिकासँग सोधे,’ वडा अध्यक्ष यादवले भने, ‘त्यसपछि बालिकाको मुख थुन्दै लछार पछार गरेर जर्वजस्ती करणी गर्न खोजेका थिए ।’

तर, बालिका चिच्याउन खोज्दा उनकै हँसिया लिएर उनको हातको बुढी औंला, मुख काट्दै घाँटी पनि रेट्न खोजेको वडा अध्यक्ष यादवले बताए । घाँटी रेट्न खोजेकै समयमा धनकौलतर्फ जाँदै गरेका एक जना मोटरसाइकल चालकलले बालिका चिच्याएको सुनेर घटनास्थल पुगी बालिकाको उद्धार गरेको उनले बताए ।

ती मोटरसाइकल चालकले नै बालिकाको उद्धार गरी उपचारका लागि पुर्याएका थिए । बालिकाको घाँटीमा ७ वटा र औंलामा तीन वटा टाँका लगाउनुपरेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

वडा अध्यक्ष यादवका अनुसार मुकेशले रक्सी समेत पिएका थिए । उनी कसरी नेपाल आएका हुन् भन्ने कुरा खुलेको छैन ।

घटनामा संलग्न युवक मुकेश मुखियालाई समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । मुखियाबिरुद्व करणीसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।