‘ओलीसँग फेरि कुरा गर्न प्रचण्डलाई भनेका छौँ’

कात्तिक १८, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच फेरि संवाद गर्नुपर्ने सुझाव दिएको बताएका छन् ।

सोमबार आफ्नै निवासमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई संवादमार्फत अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको बताएका हुन् ।

‘हामीले के भन्यौँ भने ठूलो मेहनत गरेर पार्टी एकता गरेको हो । ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटी अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौं भनेर बैठक राख्ने नै प्रयत्न गरौँ,’ उनले भने ।

गत शनिबार प्रचण्ड र केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी भएको थियो । उक्त कुराकानीबारे प्रचण्डले आफूनिकट सचिवालय सदस्यलाई ब्रिफिङ गरेका थिए ।

प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङ पछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओली बीच कुनै संवाद हुन नसकेको पनि बताए ।

ब्रिफिङमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनैपनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौँ भन्ने प्रस्ताव राखेको जानकारी गराएको श्रेष्ठले बताए ।

अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले पार्टी एकता ठूलो मेहनत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता कार्यकर्ताले पहल गर्नुपर्ने बताए ।

पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि श्रेष्ठको भनाइ छ ।