कांग्रेसको पूर्व पदाधिकारी बैठक आज पनि बस्ने

कात्तिक १८, काठमाडौं ।
विविध विषयमा छलफल तथा महाधिवेशनको तयारीका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्व पदाधिकारी तथा केही केन्द्रीय सदस्यको बैठक मंगलबार पनि बस्दैछ । बैठक पार्टि कार्यालय सानेपामै बस्ने जनाइएको छ ।

सोमबार बैठकमा विविध विषयमा छलफल भए पनि आज थप विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ । सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागबारे छलफल गर्न बसेको पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा देउवाले भने, ‘मैले विभाग बनाइसकेँ, अरु विषयमा कुरा गर्न तयार छु ।’

देउवाले चार वर्षसम्म बनाएका विभागहरु १४औं महाधिवेशनको मिति तय भइसकेपछि गठन गरेका छन् । यो विधान विपरीत भएकाले खारेज गर्नुपर्ने पौडेल समूहको माग छ । पौडेल समूहले विभाग गठन, क्रियाशील सदस्यता, समाजयोजनबारे २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित १२ असोजमा पार्टीमा १६ बुँदे विरोधपत्र बुझाएको थियो ।

असोज १९ को केन्द्रीय कार्यसमिति बैठक अघि त्यसबारे छलफल गर्न १७ असोजमा बैठक बसेको थियो ।

तर अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसको सबै बैठक विथोलियो । २१ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका देउवाले त्यही छलफलको निरन्तरताका रुपमा सोमबार नेताहरुसँग छलफल गरेका हुन् ।

बैठकको सुरुमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुलाई दिइएको क्रियाशील सदस्यताबारे धारणा राखेका थिए । विधानको व्यवस्थाअनुसार नै केन्द्रीय कार्यसमितिले क्रियाशील दिइएको उनको दाबी थियो ।

तर नेता महेश आचार्यले त्यसको विरोध गरे । सम्बन्धित तहबाट क्रियाशील माग भएपछि केन्द्रीय समितिले दिने व्यवस्था रहेको भन्दै उनले अहिले तलबाट माग हुनुपर्ने प्रक्रिया पूरा नभएको बताएका थिए ।

आचार्यसँग वरिष्ठ नेता पौडेल बोल्दा सभापति देउवा बीचबीचमा प्रतिक्रिया दिइरहन्थे । सभापतिले अरुलाई नसुन्ने हो भने सम्वाद नै हुन नसक्ने भन्दै आचार्य रिसाएपछि महामन्त्री पूर्णबहादुर खड्कालगायतका नेताहरु देउवालाई रोक्नु परेको एक नेताले बताए ।

बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले फागुनमा महाधिवेशन हुन नसक्ने भएकाले नयाँ मिति तोकेर कार्यातालिका बनाउनुपर्ने बताए । साथै पौडेल समूहले उठाएका विषयमा यसरी छलफल गरेर सहमति हुन नसक्ने भन्दै सानो समूह बनाएर छलफल गर्नुपर्ने बताएका थिए ।