कात्तिक १९, काठमाडौं ।
भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् ।
नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ बुधबार काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।
फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो ।
नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ । नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने पुरानै परम्परा भए पनि नरभानेले नेपाल–भारत सीमासम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनलाई सुरक्षा चुनौति रहेको सुरक्षा निकायको विश्लेषण छ ।
नरभानेले दिल्लीको सुरक्षा तथा रणनीतिक मामिलाका थिंक ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको कार्यक्रममा नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको बताएका थिए ।
यही अभिव्यक्तिका कारण उनलाई विभिन्न समूहले कालो झण्डा देखाउन सक्ने, कफन बाँधेर बस्ने, कालो कपडा देखाउने र भिड जम्मा भएर विरोध प्रदर्शन हुनसक्ने विश्लेषण नेपालस्थित भारतीय दुतावासको पनि छ । त्यसअनुसार प्रहरीले सम्भावित समूह र व्यक्तिमाथि निगरानी बढाएको छ ।
‘केही व्यक्ति जो पटकपटक भीआईपी आउने वित्तिकै यस्ता खाले क्रियाकलापमा संलग्न हुन्थे, उनीहरु हाम्रो निगरानीमा छन्’, एक वरिष्ठ प्रहरी अधिकृतले भने, ‘यसपटक नरभानेको भ्रमणको विरोध जनाउँदै अभिव्यक्ति दिएका व्यक्तिको गतिविधिलाई पनि नजिकबाट नियालिरहेका छौं ।’ आवश्यकता अनुसार उनीहरुलाई नियन्त्रणमा समेत लिइने प्रहरी अधिकृतहरुको भनाइ छ ।
नरभानेको सुरक्षा चुनौतिकै कारण भारतले उनको नेपाल आगमनको समय तालिका सार्वजनिक गरेको छैन । साथै, पूर्वनिर्धारित समय तालिकामा पनि केही फेरबदल गर्नुपर्ने हुनसक्ने सुरक्षा सम्बद्ध स्रोत बताउँछन् ।







