कात्तिक १९, काठमाडौं ।
बढ्दो कोरोना संक्रमणका कारण अक्सिजनको खपत बढेको छ । सर्तकताका लागि सर्वसाधारणले १० लिटर अक्सिजन सिलिण्डर आवश्यकभन्दा धेरै स्टक राख्दा बजारमा कमी हुन थालेको हो ।
कोरोना संक्रमणले अवस्था गम्भीर हुन थालेकाको शरीरमा अक्सिजनको मात्रा घट्छ, त्यस्तो बेला अतिरिक्त अक्सिजन दिनु पर्छ ।
पछिल्लो समय कोभिड संक्रमितहरु होम आइसोलेसनमा बस्न थालेपछि अक्सिजन स्टक राख्ने र खपत पनि बढ्न थाल्दा बजारमा अभाव हुन थालेको उद्योगीहरुले बताएका छन् । उद्योगहरूले साइज अनुसारका सिलिण्डर बजारमा पठाउँछन् । १०,२० र ४७ लिटरका सिलिण्डर सर्वसाधारणले धरौटी राखेर प्रयोग पाउँछन् ।
यीमध्ये सबैभन्दा धेरै प्रयोग १० लिटरको हुँदै आएको छ । प्रयोगभन्दा बढी खाँचो पर्दा चलाउने भन्दै लैजाने बढ्दा हाल १० लिटरको सिलिण्डर कम मात्रामा पाइन थालेको छ । अस्पतालहरूले पनि १० लिटरकै सिलिण्डर बढी चलाउने गरेका छन् ।
‘होम आइसोलेसन र अस्पतालहरुमा सिलिण्डर स्टक राख्न थालेपछि खाली सिलिण्डरको अभाव हुन थालेको छ,’ शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने । यतिबेला कोभिड अस्पताल र होम आइसोलेसनमा मात्र अक्सिजनको माग बढ्न थालेको छ ।
उद्योगको क्षमता १२ सयदेखि १५ सय सिलिण्डर भए पनि हाल ७ सय सिलिण्डर उत्पादन र खपत हुने गरेको छ । ‘अक्सिजनको अभाव छैन तर भरेर पठाउन खाली सिलिण्डर पर्याप्त मात्रामा फर्केर नआउने समस्या भएको छ,’ उनले भने ।
अस्पतालमा संक्रमितको संङख्या बढ्न थालेपछि पहिलेभन्दा दोब्बर सिलिण्डर राख्न थालेका छन् । यसले गर्दा सिलिण्डर फिर्ता हुन समय लाग्छ । समयमै सिलिण्डर आए बजारमा ग्यासको अभाव नहुने उनको भनाइ छ । होम आइसोलेसनले पनि १० लिटर सिलिण्डरको प्रयोग धेरै हुन थालेको हो ।
पहिलेभन्दा १० देखि १५ प्रतिशत माग बढेको छ । एकै व्यक्तिले ३ वटाभन्दा बढी सिलिण्डर स्टक राख्न थालेका छन् । कोभिड लामो समयसम्म जाने अनुमान गरेर थप सिलिण्डर मगाउन लागिएको उनले जानकारी दिए ।
अक्सिजनका बन्द हुन लागेको उद्योगलाई कोभिडले पुनः संचालनमा ल्याए पनि पर्याप्त सिलिण्डर नपाउनु संक्रमितकै लागि समस्या रहेको उनको बुझाइ छ ।
पछिल्लो समय अक्सिजनको खपत पहिले भन्दा दोब्वर हुन थालेको कान्तिपुर अक्सिजन प्रालिका बजार प्रबन्धक कुमार चुडालले बताए । ‘यतिबेला कोभिड अस्पतालमा अक्सिजनको माग बढी भइरहेको छ । अन्य अस्पतालमा पहिलेको अनुपातमा १० प्रतिशतमात्र खपत भइरहेको छ,’ उनले भने, ‘१० लिटरको सिलिण्डरको माग बढी छ ।’
तर धरौटीमा लगेर समयमा फिर्ता नगर्दा सिलिण्डर कम हुन थालेको छ । होम आइसोलेसनमा २० लिटर र ४७ लिटरको सिलिण्डर ढुवानी गर्न समस्या हुने भएकाले सर्वसाधारणले १० लिटरको बढी प्रयोग गर्ने गरेका छन् ।
उद्योगले तोकिएको समय भन्दा बढी राख्दा जरिवाना लिने भए पनि सिलिण्डर फिर्ता नगरेको उनको भनाइ छ । ‘खाली सिलिण्डर ल्याउने लाने गरिरहनु पर्ने हुन्छ । डम्प गरेर राख्दा केही दिनमा १० लिटरको सिलिण्डर सर्टेज हुन्छ,’ उनले भने ।
कान्तिपुर अक्सिजन प्रालिले मंसिरमा थप केही सिलिण्डर मगाउन लागेको छ । कोभिडपछि अक्सिजनको माग दोब्बर भइरहेको सगरमाथा अक्सिजन नेपाल प्रालिका बजार प्रबन्धक रितेश महर्जनले बताए ।
‘पहिले दैनिक ४ सयदेखि ५ सय सिलिण्डर खपत हुनेमा अहिले दैनिक ८ सय देखि एक हजार सिलिण्डर खपत हुँदैछ,’ उनले भने । १० लिटरको सिलिण्डरको माग धेरै हुने गरेको उनको अनुभव छ ।
’सिलिण्डर डम्प भएकाले बजारमा माग बढेर अभाव भएको देखिएको हो । पहिलेकै अवस्थामा उत्पादन र खपत भइरहेको छ,’ उनले भने । उद्योगहरुको १५ सय सिलिण्डर उत्पादन क्षमता भए पनि ८ सय सिलिण्डर उत्पादन गरिरहेका छन् । केही उद्योग कोभिड अघि १९ घण्टा संचालन भइरहेका थिए । हाल २४ घण्टा संचालनमा छन् ।
उपत्यकामा अक्सिजनका ११ वटा उद्योग छन् । यतिबेला ८ वटा संचालनमा छन् । राजधानीमा ६ भन्दा बढी अस्पतालहरुका आफ्नै पनि अक्सिजन प्लान्ट छन् । केहीको मेशिन बिग्रिएकाले उनीहरूले बजारबाट सिलिण्डर उठाउने गरेका छन् ।







