कांग्रेस नेता मन्सुर कोरोना उपचारका लागि राजधानीमा

कात्तिक २०, काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुर उपचारका लागि हेलिकप्टरमा राजधानी आएका छन् । उनमा कोरोना संक्रमण देखिएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर उनी काठमाडौं आएका हुन् ।

केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र हिँड्दा दम बढ्ने समस्या भएपछि मन्सुर सोमबार वीरगञ्जको एडभान्स अस्पताल गएका थिए । मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई वीरगञ्जको नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल आइसोलेसनममा राखेर उपचार शुरु गरिएको थियो । पार्टी नेतृत्वको आग्रह पछि थप उपचारका लागि बुधबार बिहान उनी हेलिकप्टरमा काठमाडौं आएका हुन् ।

उनको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य स्थिति र रगतमा अक्सिजनको मात्रा सामान्य नै रहेको बताइएको छ ।