आजदेखि भारतीय सेनाध्यक्ष नरवणे नेपालको मानार्थ महारथी

कात्तिक २०, काठमाडौं ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आजदेखि नेपाली सेनाको मानार्थ महारथी बन्नेछन् । जंगीअड्डाको अभिलेखअनुसार भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति हुनेछन् ।

बुधबार काठमाडौं आइपुगेका नरवणेले विभिन्न ऐतिहासिक सम्पदा र पशुपतिनाथको दर्शन गरे । यसक्रममा उनी नेपाली ढाकाटोपीमा समेत सजिएका देखिए । भ्रमणको दोस्रो दिन बिहीबार उनले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यसूची छ ।

नेपाली सेनाले उपलब्ध गराएको विवरणअनुसार सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रहीआएको छ । तर, सैनिक इतिहासका जानकारहरु त्यसअघिबाट नै यस किसिमको सम्मान दिन थालिएको बताउँछन् ।

सेनाका अवकाश प्राप्त सहायक रथी प्रेमसिंह बस्न्यातको दाबीअनुसार राणा प्रधानमन्त्री वीर शमशेरको पालाबाटै यो परम्पराको सुरुवात भएको हो ।

उनका अनुसार तत्कालीन व्रिटिस इन्डियाले गोर्खा सैनिकलाई आफ्नो मातहतमा काम गराउनका लागि प्रोत्साहन स्वरुप मानार्थको सम्मान दिने चलन सुरु गरेको थियो । त्यसबेला महासेनानीबाट सम्मान दिन सुरु गरिएको उनको भनाइ छ ।

राणा शासनका बेला जंगबहादुर, रणदीप लगायतले गार्खालीलाई ‘लाहुर’मा जान निरुत्साहित गर्ने नीति लिएको उनी बताउँछन् । वीर शमशेरका पालाबाट भने ब्रिटिस इन्डियाले सम्मानको प्रलोभन देखाएर लाहुरमा लैजान थालेको उनको भनाइ छ ।

जंगीअड्डामा भएको अभिलेख अनुसार मानार्थ महारथीको दर्ज्यानी चिह्न दिने परम्पराको सुरुवात १९५० देखि भएको हो । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।

त्यसपछि भारतबाट सेनाध्यक्ष राजेन्द्र सिंहजी जडेजा, सत्यवन्त मल्लना (एसएम) श्रीनागेस, कोडान्डेरा सुबार्या थिमैया, प्राणनाथ थापार, जयन्तनाथ चौधरीसहित विपीन रावत लगायत १७ जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन् ।

नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिन्ह पाएका थिए । त्यसयता सिंहबहादुर बस्न्यात, गुण शमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटुवाल, छत्रमानसिंह गुरुङ, गौरव शमशेर जङ्गबहादुर राणा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा गरी १४ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका छन् ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि २४ अक्टोबर १९४५ मा नेपाल भ्रमण गरेका बेलामा ब्रिटिस इण्डियाको तर्फबाट सेना प्रमुख सर क्लाउडेलाई पहिलो पटक मानार्थ जर्नेलको सम्मान दिइएको इतिहासविदहरु बताउँछन् । उनीहरुका अनुसार तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले उनलाई मानार्थ जर्नेलको दर्ज्यानी चिह्न दिएका थिए ।

जंगीअड्डाको अभिलेखले पनि भारत स्वतन्त्र हुनुअगावैबाट नेपाल र भारतका सैनिकबीच एकअर्काको देशमा भ्रमण गर्ने कार्यको सुरुवात भइसकेको देखाउँछ ।

मानार्थको सम्मान दिने प्रचलनको इतिहासबारे विभिन्न खालका दाबी भेटिए पनि यो सम्मान दिने चलन ब्रिटिस इन्डियाकै समयबाट सुरु भएको अधिकांश सैन्य इतिहासका जानकारहरुको भनाइ छ ।

त्यसबेला यसको उद्देश्य गोर्खालीलाई ‘लाहुर’मा लैजानु भए पनि हाल भारतले सुरक्षा रणनीतिका कारण यसलाई महत्व दिने गरेको छ ।

नेपाली सेनाले पनि यस प्रकारको चलनले छिमेकी राष्ट्रबीचको आपसी सम्मान र पारस्परिक विश्वासलाई प्रतिबिम्बित गर्ने बताउँदै परम्परागत चलनलाई निरन्तरता दिँदै आएको छ । यद्यपि, राजनीतिक वृत्त र नागरिक स्तरबाट यो परम्परामाथि पुनर्विचार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुरुवातमा नरवणेलाई मानार्थको सम्मान लिन नबोलाउने अडान राखेका थिए । तर, दिल्ली देहरादुनमा ‘भारतीय सैनिक एकडेमी’को एक कार्यक्रममा नरवणेले त्यस अभिव्यक्तिलाई सच्याएपछि उनलाई नेपाल भ्रमणमा बोलाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक अन्तरवार्तामा भनेका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यस किसिमको परम्पराले दुई देशबीच रहेको सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन भूमिका खेल्छ । ‘यसरी मानार्थ सम्मान दिने चलन अन्य देशका सेनाबीच पनि छ’, सहायक रथीसमेत रहेका पौडेल भन्छन् ।