आफ्नो उत्पादन शुद्ध रहेको डिडिसीको स्ष्टोक्ति

कात्तिक २१, काठमाडौं ।
दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्नो उत्पादन शुद्ध रहेको दाबी गरेको छ । कुनै पनि उत्पादनमा मिसावट नभएको डिडिसीको स्पष्टोक्ति छ ।

डीडीसीको मख्खन र घिउमा अखाद्य वस्तु घेटिएको तथा उपभोग्य मिति सकिएको भनी गरिएको प्रचारमा कुनै सत्यता नभएको संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद पौडेलले बताएका छन् ।

‘उपभोक्ताको गुनासोपछि संस्थानको दुग्ध विकास आयोजनाको ल्याबमा गुणस्तर परीक्षण गरिएको थियो । हामीले अहिलेसम्म कुनै कैफियत फेला पारेका छैनौँ,’ महाप्रबन्धक पौडेलले भने ।

बीस दिनसम्म फरक–फरक नमूनाको जाँच गर्दा कुनै पनि नमूनामा कैफियत नदेखिएको संस्थानको दाबी छ ।

लकडाउनका कारण दुग्धजन्य पदार्थको बिक्रीमा कमी आएको र त्यसबाट किसानलाई मर्का नपरोस् भनेर संस्थानले लामो समयसम्म उपभोग गर्न मिल्ने अन्य पदार्थ निर्माण गरेको जनाएको छ ।

संस्थानको आधुनिक भण्डारण गृहमा राखिएका उत्पादन एक वर्षसम्म नबिग्रिने वैज्ञानिक आधार रहेको पनि संस्थानको भनाइ छ । भण्डारणमा रहेको दुग्धजन्य पदार्थको गुणस्तरबारे सचेत रहेको र बेला बेलामा छड्के परीक्षणहरु पनि गरिरहेको पौडेलले बताए ।

गत असोज २७ गते काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा डीडीसीको बालाजु आयोजनाको भण्डारमा एक लाख ९४ हजार किलोभन्दा धेरै बटरमा उपभोग्य मिति सकिएको फेला परेको थियो ।

यस्तै कृषि मन्त्रालयकै पूर्व सहसचिवले बजारबाट किनेको डीडीसीको घिउमा साधरण तापक्रमले नपग्लिने तत्व फेला परेको थियो ।