मतगणणाबीच राष्ट्रपतिका दुवै उम्मेदवारले गरे प्रेसलाई सम्बोधन

कात्तिक २१, काठमाडौं ।

अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपतिका दुई उम्मेदवार डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेको बिबिसीले जनाएको छ ।

ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरे । ‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ,’ उनले भने, ‘तर प्रक्रियाले काम गरिरहेको छ ।’

प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले थपे, ‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन् ।’

मतगणना समाप्त भएपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई कुनै शङ्का नरहेको पनि बाइडनले सञ्चारमाध्यमलाई बताएका छन् ।

त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले बिना कुनै प्रमाण चुनावमा ‘धाँधली’ गरिएको आरोप फेरि पनि दोहोर्याएका छन् ।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत् पहिलो पटक उनले धारणा सार्वजनिक गरेका हुन् । ट्रम्पले भने, ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु ।’

हुलाकमार्फत् गरिएको मतदान ’एकतर्फी’ भएको दाबी गर्दै चुनाव अघि अमेरिकी तथा अन्य विभिन्न सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले ‘चुनावी हस्तक्षेप’ भएको बताए ।

यसैबीच राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्वीट गर्दै चुनावलाई लिएर ‘पूर्ण युद्धमा जान’ आफ्ना बुवालाई आग्रह गरेका छन् ।

उनको त्यो ट्वीटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भनेको छ ।

जितका लागि महत्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन् ।

निकै महत्त्वपूर्ण रहेको पेन्सल्भेनियामा ट्रम्पको अग्रता साँघुरिँदै गएको छ ।

पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले दुई सय ५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले दुई सय १४ इलेक्टरल मत प्राप्त गरेका छन् ।