कात्तिक २१, काठमाडौं ।
कोरोना संक्रमणका कारण उपचाररत रहेका सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री प्रकाश शाहलाई उपचारको लागि हेलिकप्टरबाट शुक्रबार काठमाडौं ल्याइँदैछ ।
कात्तिक १५ मा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्री शाह बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए ।
नाकबाट रगत बग्न थालेपछि अस्पताल भर्ना भएका मन्त्री शाहलाई थप उपचारको लागि आजै काठमाडौं ल्याइने उनको सचिवालयले जनाएको छ । नाकबाट रगत बग्न रोकिएपछि अस्पतालबाट बिहीबार साँझ उनलाई डिस्चार्ज गरिएको थियो ।
चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि शुक्रबार काठमाडौं लैजाने तयारी भइरहेको मन्त्री शाहका स्वकीय सचिव जंग विकले जानकारी दिए ।
सामाजिक बिकास मन्त्रालयले मन्त्री शाहलाई काठमाडौं पठाउने तयारी गरिरहेको जनाएको छ । ‘चाँडै हेलिकप्टरबाट मन्त्री ज्यूलाई काठमाडौं पठाउने तयारी भइरहेको छ,’ सामाजिक विकास मन्त्री कृष्ण सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले भने ।







