कोरोना सर्ने जोखिम भएपछि डेनमार्कले डेढ करोडभन्दा बढी मिंक मार्ने

कात्तिक २१, काठमाडौं ।
मिङ्क नामक जनावरमा कोरोनाभाइरसको म्युटेसन भएको स्ट्रेन पाइएपछि मान्छेमा पनि कोरोना सार्ने जोखिम भएकाले डेनमार्कले डेढ करोड भन्दा बढी मिंकलाई मारिने जनाएको छ ।

यस जनवारको रौँको ठूलो उत्पादक डेनमार्कले देशमा रहेका सबै मिङ्कलाई मार्ने जनाउँदै नयाँ म्युटेसनलाई फैलन नदिन केही भागमा लकडाउनसमेत गर्ने तयारी गरेको छ ।

उत्तरी जुटल्याण्डका सात नगरपालिकामा शुक्रबारबाट लागू हुने लकडाउन ३ डिसेम्बरसम्म जारी रहनेछ । देशमा रहेका करिब १.७ करोड मिङ्क मार्ने घोषणा गरेसँगै लकडाउनको पनि घोषणा गरिएको हो ।

बिहीबार विश्व स्वास्थ्य संगठनले मिङ्क ‘कोरोनाभाइरसको राम्रो रिजरभोयर’ भएको पाइएको बताउँदै आर्थिक क्षतिका बावजुद डेनमार्कले चाल्न लागेको कदमको प्रशंसा गरेको छ । डेनमार्क मिङ्कको रौँको सबैभन्दा ठूला उत्पादक हो । त्यहाँबाट चीन र हङकङमा उत्पादनहरु निर्यात हुने गर्छ ।

प्रधानमन्त्री मेट फ्रेडरिक्सनले स्वास्थ्य अधिकारीहरुको सल्लाहअनुसार मुटुमाथि ढुङ्गा राखेर मिङ्कलाई मार्ने निर्णय गर्न लागिएको बताए । ‘हाम्रो जनतातर्फ ठूलो जिम्मेवारी रहेको छ तर म्युटेसन फेला परेपछि विश्वका लागि हाम्रो झन् ठूलो जिम्मेवारी रहेको छ,’ उनले भने ।

युरोपमा महामारी सुरु भएयता नेदरल्याण्ड र स्पेनका मिङ्कका फार्महरुमा कोरोनाभाइरस भेटिएको छ । यिनीहरुमध्ये डेनमार्कमा यो तीव्र गतिमा फैलिरहेको छ ।

हालसम्म जुटल्याण्डका दुई सय सात फार्म यसबाट प्रभावित भएका छन् । यसमध्ये भाइरसको नयाँ स्ट्रेनका पाँच घटना भेटिएका छन् । अधिकारीहरुका अनुसार हालसम्म १२ जना म्युटेसन भएका नयाँ स्ट्रेनबाट संक्रमित भएका छन् ।

स्वास्थ्यमन्त्री म्यागनस हिउनिकले भने उत्तरी डेनमार्कमा फेला परेका सात सय ८३ जना संक्रमितमध्ये आधा मिङ्क फार्मसँग सम्बन्धित भाइरसको स्ट्रेनससँग जोडिएको बताएका छन् । (एजेन्सी)