कात्तिक २१, झापा ।
नेपाल–भारत सीमाअन्तर्गत झापाको गौरीगन्ज–४ बारहसुदीस्थित गेउरिया खोलामा रहेको १४९ र २४ नम्बरको पिलर खोलामा आएको बाढीले लडाएको दुई वर्ष भयो । यस वर्षको बाढीले त्यो सीमास्तम्भ झनै पुरिदिएको छ ।
यो सीमास्तम्भ ढलेको दुई वर्षसम्म पनि सरकारी निकाय सीमासम्म नपुगेको स्थानीयको आरोप छ । गत हिउँदसम्म त ढलेको सीमास्तम्भमा स्थानीयको खोलामै रहेको अन्य १० भन्दा बढी स्तम्भ पनि संकटमा रहेको स्थानीय बताउँछन् ।
‘बैरियाघाट बोर्डरसम्म १६ वटा पिलर छन् । तीमध्ये १० वटाभन्दा बढी खोलामा पर्छन्,’ स्थानीय बद्रीकुमार ऋषिदेव भन्छन्, ‘खोलामा रहेका सबै पिलर ढल्ने अवस्थामा छन् । खोला बाढी आउँदा पिलरछेउ पनि कटान गरेको छ । अब अर्को बाढीमा रहन्छ कि रहँदैन ।’
स्तम्भ मर्मतसम्भारमा सरकारी निकायले बेवास्ता गरेको स्थानीयको आरोप छ ।
‘ढलेको यत्रो समय भयो कोही हेर्न आएन । अब ढल्न आँटेको त नढली कसले हेर्ला र ?’ सुनीता ऋषिदेव भन्छिन्, ‘कहिलेकाहीँ भारतबाट एसएसबी आउँछन् । पिलर हेरेर जान्छन् । तर, नेपालबाट कोही पनि आउँदैन ।’
पिलर नम्बर १४९ का अधिकांश स्तम्भ जोखिममा छन् । कतिपय स्तम्भको वरिपरि खोलाले खोलेर ढाल्नै लागेको छ । अन्तर्राष्ट्रिय सीमा रहेको यो ठाउँमा स्तम्भ बनाएपछि जाँच गर्न कोही पनि नआएको स्थानीयको आरोप छ ।
गौरीगन्ज गाउँपालिकाका अधिकांश वडाले भारतीय सीमा छुन्छ । भारतीय सीमाअन्तर्गत गौरीगन्जको विभिन्न वडामा रहेका स्तम्भमध्ये ३० देखि ४० वटा सीमास्तम्भ जोखिममा रहेको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको दाबी छ ।
सीमास्तम्भ तत्काल मर्मत नगरे सीमा मिचिने खतरा रहेको उनले बताए । ‘सीमास्तम्भहरू व्यवस्थपन नगरे अरू ठाउँमा पनि कालापानी, लिपुलेक, लिम्पियधुरा र सुस्ताको जस्तो समस्या आउँछ । हामीलाई त सीमाका पिलर छुने पनि अधिकार छैन,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘खोलामा रहेका सीमास्तम्भलाई वेलावेला जाँच गरेन भने समस्या आउँछ । यसतर्फ केन्द्र सरकारको ध्यान जाओस् ।’
ढलेको स्तम्भबारे गाउँपालिकाको तर्फबाट केन्द्र सरकारमातहतको निकायलाई जानकारी गराइसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गेउरिया खोलाको मात्र होइन सीमाको सुरक्षा गर्दै आएको सशस्त्र प्रहरीको तथ्यांकअनुसार झापामा ७० सीमास्तम्भ खोलाले बगाएको छ ।
यी सीमास्तम्भ खोलामा थिए । बर्खाको बाढीले स्तम्भ बगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
झापामा हालसम्म एक सय २२ वटा सीमास्तम्भ फेला परेका छैनन् । भारतसँग एक सय ४४ किलोमिटर क्षेत्रमा जोडिएको झापामा नौ सय ९५ वटा सीमास्तम्भ छन् ।
जसमध्ये ३६ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको सशस्त्र प्रहरीको तथ्यांकमा उल्लेख छ । ७६ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन् ।
सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालयका प्रमुख डिआइजी वंशीराज दाहालले हराएका, ढलेका सीमास्तम्भका विषयमा तत्काल सम्बन्धित निकायमा जानकारी गराइएको जानकारी दिए । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सीमास्तम्भको पुनर्निर्माण, मर्मतलगायत विषयमा नापी विभागसँग ताकेता गरिरहेको बताए ।
‘हराएका, ढलेका र पुनर्निर्माण गर्नुपर्ने स्तम्भको तथ्यांक हामीसँग छ । हामीले माथि रिपोर्टिङ गर्ने हो । भारत र नेपालको टेक्निकल टिम छ । उहाँहरूले हेर्नुहुन्छ । मर्मत, पुनस्र्थापनाको काम उहाँहरूले गर्नुहुन्छ । मैले नापी विभागसँग ताकेता गरिरहेको छु,’ उनले भने, ‘अब पानी पनि कम भयो । मंसिरबाट उहाँहरू आउनुहुन्छ होला ।’
स्तम्भ हराउँदैमा र ढल्दैमा सीमा यताउता नहुने उनको भनाइ छ । ‘फिक्स बाउन्ड्री प्रिन्सिपलका आधारमा हुन्छ । जिपिएस सिस्टम पनि छ । हामी सीमामा जाँदा मोबाइलबाटै हेर्र्छौँ,’ उनले भने, ‘पिलर हराउँदैमा, ढल्दैमा सिमाना यताउता हुँदैन ।’
कोरोना महामारीका कारण नेपाल–भारत सीमा समितिको बैठक बस्न नसक्दा सीमास्तम्भको काम गर्न नसकिएको नापी विभागले जनाएको छ । विभागका सीमा शाखा प्रमुख दयानन्द जोशीले दुई देशको सीमा समितिको बैठक बसेपछि मात्र सीमास्तम्भ पुनस्र्थापना गर्न सकिने बताए ।
‘सीमामा कहिले एकोहोरो हुँदैन, दोहोरो नै हुन्छ । कोभिडका कारण दुई देश सम्मिलित सीमा समितिको बैठक बस्न सकेको छैन,’ उनले भने, ‘बैठक बस्ने हो भने कसरी पुनस्र्थापना गर्ने भन्नेबारेमा छलफल हुने थियो । बैठक अहिलेसम्म बसेको छैन । बस्यो भने थाहा भइहाल्छ ।’
झापामा गत वर्ष दुई–तीन महिना सीमामा काम भएको उनले बताए । दुई वर्षदेखि ढलिरहेको सीमास्तम्भका विषयमा भने उनले अनभिज्ञता जनाए । उनले स्तम्भ ढल्दैमा र खोलाले बगाउँदैमा सीमा नसर्ने बताए ।
‘ढल्यो भने पनि, हरायो भने पनि हामी जुनसुकै वेला त्यही ठाउँमा स्थापना गर्न सक्छौँ । त्यो त समस्या नै हुँदैन,’ जोशीले भने ।







