कात्तिक, २१ काठमाडौं । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कोरोनाको सम्पूर्ण उपचार निशुल्क हुनुपर्ने बताएका छन् ।
असोज १९ गते बसेको मन्त्रिपरिषदको बैठकले कोरोना परीक्षण र उपचारमा शुल्क लिने निर्णय गरेको थियो । उक्त निर्णय यहि कार्तिक २ गते देखि कार्यान्वयनमा छ । सरकारको यो निर्णय उचित नरहेको भन्दै सांसद अधिकारीले सरकारी निर्णयको विरोध गरेका हुन् ।
‘सम्पूर्ण रुपमा कोरोनाको परीक्षण र उपचार निशुल्क हुनुपर्छ । यसबारे सरकारलाई समितिले ध्यानाकर्षण गराउन पर्यो’ शुक्रबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद अधिकारीले भने ।
कोरोना रोकथामका लागि राजनीतिक दल र तिनका कार्यक्रताहरु समेत खटिनुपर्ने र जनचेतनामुलक अभियानहरु सावधानीका साथ सञ्चालन गर्नुपर्ने सांसद अधिकारीको भनाई रहेको छ ।
सांसद अधिकारीले कोभिड–१९ संक्रमण बढीरहेको अवस्थामा हेल्थ इमर्जेन्सी घोषणा गरेर काम अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
‘हाम्रा महत्वपुर्ण दिनहरु मरणको गणना गरेर बित्ने अवस्था आयो । हेल्थ इमर्जेन्सी घोषणा गरौँ । वन डोरबाट उपचार व्यवस्थापन गरौँ । यो मैले पहिलादेखी नै भनेको छु । जागरण र जाग्रीत गर्ने कुरामा सम्पुर्ण राजनीतिक दल, कार्यकर्ता र सांसदहरुपनि लाग्नुपर्छ । यो सबैभन्दा कन्ट्राडिक्टरी कुरा के छ भने यहाँ देखाउँदा भेन्टिलेटर खाली छ भनिन्छ । तर भेन्टिलेटर पाएनौँ भनेर कुरा आइरहेको छ । पोखरामा पनि भेन्टिलेटर छैन भनेका छन् । यस्तो देखिन्छ’ समिति बैठकमा अधिकारीले भने ।
नसक्नेको उपचार सरकारले गर्छ : स्वास्थ्य सचिव
समिति बैठकमा सहभागि स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नसक्नेको उपचार सरकारले गर्ने बताए ।
‘उपचार र परीक्षण गर्न नसक्ने भनी गरेको स्वघोषणाको आधारमा सरकारले निशुल्क गर्छ’ अर्यालले भने ।
सबैको सबै प्रकारले निशुल्क गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध पुनरावलोकन गइएको र त्यसको फैसला आएको सार्वजनिक रुपमा सुनिएको भएपनि औपचारिक रुपमा मन्त्रालयमा आउन बाँकी रहेको उनले बताए ।
‘सरकारले गरेको पुनरावलोकनको विषयको फैसला औपचारिक रुपमा आएपछि सोही अनुसार मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजानुपर्ने हुन्छ । आएपछि त्यसबारे छलफल हुन्छ’ सचिव अर्यालले भने ।
बैठकमा सहभागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले देशका मुख्य शहरमा कोरोनाको खतरा बढी रहेको बताए । सबैभन्दा बढी खतरा र कोरोनाका केशहरु काठमाडौंमा रहेको उनले जानकारी दिए ।
‘ बागमति प्रदेशमा ६४ प्रतिशत एक्टिभ केशहरु छन् । काठमाडौंमा ६९ प्रतिशत छ । भक्तपुरमा ५.३ र ललितपुरमा ९.७ प्रतिशत केश देखा परेको छ’ पोखरेलले भने ।
तुलनात्मक रुपमा वागमति प्रदेशमा बढी परीक्षण भएको र एक्टिभ केशहरु पनि बागमति प्रदेशमा नै देखा परेको उनले बताए ।







