कात्तिक, २१ टीकापुर । टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिइन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो बढ्दै गएपछि उनीले वडा कार्यालयले समुदायमै खटाएकी स्वास्थ्यकर्मी शान्ती ढुङ्गाना नेपालीलाई फोन गरीन्। स्वास्थ्यकर्मी नेपाली घरमै गएर जाँच गरेर औषधि दिएर आइन् सेतीलाई सञ्चो भयो ।
“कोरोना महामारीको डरका बेला घरमै स्वास्थ्यकर्मी नानी आउनुभयो”, सेतीले भनिन्, “मैले घरमै सेवा पाए । म त निकै खुशी छु । सञ्चो पनि भयो । सरकारले राम्रो काम गरेको रहेछ ।” सेतीजस्तै प्रतिपुरकी निरु गिरीलाई पनि रुघाखोकीको समस्या भयो । उनले पनि शान्तिलाई फोन गरीन्। शान्तिले घरमै गएर उपचार सेवा दिएपछि उनी पनि निको भइन्।
कोरोना सङ्क्रमणको जोखिमका बेला स्वास्थ्य संस्था जान नसकेको अवस्थामा घरमै सेवा पाउँदा गिरी पनि खुशीछन्। वडा कार्यालयले जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएकाका लागि शुरु गरेको घरदैलो स्वास्थ्य सेवाबाट अहिलेसम्म ३५० जनाले सेवा पाइसकेका छन् । चालु आर्थिक वर्षको साउनदेखि शुरु भएको यो सेवाबाट हिटडुल गर्न नसक्नेलाई राहत भएको छ ।
स्वास्थ्यकर्मी नेपाली अस्पताल आउन नसक्ने समस्या भएकाले फोन गर्दा पनि सेवादिइरहेको बताउछिन्। “घरमै गएर सेवा दिँदा जेष्ठ नागरिक खुशी भएका छन्”, नेपालीले भनिन्, “हिड्न नसक्नेलाई सहज भएको छ । सामान्य समस्या भएकालाई औषधि दिएर आउँछु । जटिल समस्या भएकालाई अस्पताल लैजान सल्लाह दिन्छु ।” अहेब नेपालीले उपचार सेवा दिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उपचार गरिरहेको बताइन् ।
“गाउँमा जेष्ठ नागरिक र बालबालिकालाई अस्पतालसम्म लैजान कठिन हुने बेला घरमै सेवा पाउँदा खुशी भएका छन्”, नेपालीले भन्नुभयो, “समुदायमा मेरो नं बाँडिएको छ । उनीहरु फोन गर्छन् म जान्छु ।” नेपाली जेष्ठ नागरिकको घरमा भने पालो मिलाएर आफैँ जाने गर्नुहुन्छ ।
टीकापुर–७ का वडाध्यक्ष रामलाल डगौरा थारु जेष्ठ नागरिकलाई सहज उपचार सेवाका लागि यो सेवा शुरु गरेको बताउनुहुन्छ । “जेष्ठ नागरिकलाई अस्पतालसम्म आउन र ल्याउन कठिन हुन्छ, उनीहरुको नियमित जाँच गर्नुपर्ने हुन्छ”, थारुले भनिन्, “त्यसैले हामीले यो कार्यक्रम राखेका हौँ । अहिले राम्रो भएको छ । यो महामारीको समयमा धेरैले राहत महसुस गरेका छन् ।”







