प्रचण्डले बोलाएको बैठकको निर्णय, ‘ओलीलाई बैठक बोलाउन आग्रह गर्ने’

शीर्ष नेताहरु आज ओलीसँग भेट्दै

कात्तिक २२, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला बैठक पक्षधर सचिवालयका नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका छन् । अनौपचारिक भनिएको सचिवालयका शीर्ष नेताहरुको सो बैठकले पार्टीभित्रको विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेकाले पार्टी बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गर्दै शुक्रबार बैठकमा सहभागी भएका नेताहरु शनिबार ओलीलाई भेट्न बालुवाटारमा जाने तय भएको समेत पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यकारी अध्यक्ष दाहाल नै औपचारिक बैठक बोलाउन सक्ने भएपनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडी बढ्न ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार सामूहिक रुपमा ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने तयारी रहेको श्रेष्ठले बताए । पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडी बढाउने र अहिलेसम्मको कामहरुको समिक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडी बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने उनको भनाइ थियो ।

उनले भने, ‘आजको अनौपचारिक बैठकले कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भएपनि पार्टीको विद्यमान संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई जोगाएर अगाडि बढ्न सकभर सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुने कुरालाई दृष्टिगत गर्दै अध्यक्ष प्रचण्ड सहित ५ जना सचिवालय सदस्यहरुले भोलि अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको आधारमा बैठक छिटोभन्दा छिटो बस्ने अनुरोध गर्ने निर्णय गरेका छौँ । यसको निम्ति हामी सामूहिक रुपमा नै अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीमा अहिलेको विद्यमान संकटलाई समाधान गर्न, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउन सहमतिको आधारमा बैठक गर्ने, अहिले सम्मको कामहरुको समीक्षा गर्ने पार्टीको निर्णयको कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नाका निम्ति आवश्यक कदमहरु अगाडि चाल्नको निम्ति छिटो भन्दा छिटो बैठक गर्न अनुरोध गर्ने भएका छौँ ।’

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित भएनन् ।

बिहीबार अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन । बरु दुई नेताबीच भनाभन भएको समाचार बाहिर आएका छन् ।

पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुको भनाइ छ । यहीबीचमा ओलीले सार्वजनिक रुपमै पार्टीका नेताहरुविरुद्ध खनिँदै प्रसंगमै नरहेको आफ्नो राजीनामा माग्न थालिएको बताउन थालेका छन् । ओलीले बुधबार र बिहीबार आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए ।