कात्तिक २२, बाँके ।
जिल्लामा २० वर्षिया युवतीसहित उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ ।
बाँके राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष र कैलालीको टीकापुर नगरपालिका १ का ५६ वर्षकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
तुल्सीपुर उपमहानगरपालिका वडा नं.१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ निवासी ७६ वर्षका पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६ः४० बजे मृत्यु भएको थियो ।
कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २ः४५ बजे र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो ३ः२० बजे मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत अवस्थामा सुधार नआएपछि कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ । (रासस)






