आज गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै

कात्तिक २४, काठमाडौं ।
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भागेका गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए ।

जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका उनले केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन नेतृत्व दिए ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे ।

बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरेका थिए । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्न पुगेका हुन् ।

यस वर्ष कोरोना भाइरसको सङक्रमण फैलिएकाले गणेशमान जयन्तीका अवसरमा आज गणेशमान सिंह अध्ययन प्रतिष्ठानले उनको जन्मस्थान भएको क्षेत्र काठमाडौँ–८ मा अक्सिमिटरलगायत स्वास्थ्य सामग्री वितरणसँगै जनचेतनामूलक अभियान शुरु गर्ने अध्यक्ष नवीन्द्रराज जोशीले जानकारी दिए ।

कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले जुम प्रविधिबाट विभिन्न कार्यक्रम आयोजना गरी गणेशमान जयन्ती मनाउने जनाइएको छ । (रासस)