कात्तिक २४, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गरिनेछ । बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो ।
त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ ।
उक्त बिल भने आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै रु १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो ।
उक्त ट्रेजरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।







