कात्तिक २५, काठमाडौं ।
सरकारले पहिले गरेको आफ्नो निर्णय सच्याउँदै कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो । यद्यपि सरकारी अस्पतालमा मात्र यस्तो सुविधा हुनेछ ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचारसमेत हुनेछ ।
सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले निवेदन दिए पनि सर्वोच्चले त्यो खारेज गरिदिएको थियो ।
स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने बोलिएको छैन ।
बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको छ ।







