बंगलादेशसँग मल किन्ने औपचारिक निर्णय

नेपालमै पनि मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाइने

कात्तिक २५, काठमाडौं ।
सरकारले बंगलादेशबाट मल खरिद गर्ने औपचारिक निर्णय गरेको छ । जीटूजी अर्थात् सीधै दुवै देशको सरकारमार्फत रासायनिक मल खरिद गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । यसअघि बंगलादेशबाट मल पैंचो ल्याउने भनिएको थियो ।

यसका लागि प्रधानमन्त्रीस्तरमा कुराकानी पनि भएको थियो । तर बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि जीटूजीमार्फत खरिद गर्ने निर्णय भएको छ ।

साथै सरकारले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउन पनि निर्णय गरेको छ ।

किताबको कर हट्यो, मन्त्रीहरूको सुविधाको ५० प्रतिशत कोरोना कोषमा
सोमबारको बैठकले पुस्तक आयातमा लगाएको कर हटाएको छ । गत आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो ।

यसपछि पुस्तकप्रेमीहरूले विभिन्न माध्यमबाट सरकारलाई यो कर हटाउन दवाब दिँदै आएका थिए । उनीहरू विभिन्न शान्तिपूर्ण आन्दोलनसमेत गरिरहेका थिए ।

साथै बैठकले मन्त्रीहरुले चैतसम्म पाउने सुविधाको आधा रकम कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिए ।