कात्तिक २५, काठमाडौं ।
कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा बस्नेमा निमोनियाको उच्च जोखिम देखिएको छ । उनीहरूलाई समयमै सचेतता अपनाउन र शंका लागे यथाशिघ्र अस्पताल जान चिकित्सकले सुझाएका छन् ।
पछिल्लो तथ्यांक हेर्दा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई आईसीयू र ६३ जना भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो ।
भेन्टिलेटरमा राखेर उपचार गरिएका सबैलाई निमोनिया भएको थियो । त्यसमा पनि निमोनिया भइसकेर अस्पताल पुग्ने १२ जनाको मृत्यु भइसकेको छ ।
‘संक्रमितहरु निमोनिया भइसकेपछि अस्पताल आउँदा मृत्यु बढेको छ,’ टेकु अस्पतालका चिकित्सक डाक्टर अनुप बास्तोलाले भने, ‘निमोनिया भएर भेन्टिलेटरमा पुगेका संक्रमितहरुको उपचार गर्न धेरै गाह्रो छ ।’
बास्तोलासँग त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका कोभिड संयोजक तथा छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास पनि सहमत छन् । उनका अनुसार निमोनिया भएकाहरुको उपचार प्रकिया लम्बिनुका साथै बचाउन सकिने सम्भावना अत्यन्तै कम हुन्छ ।
‘कतिपय निमोनिया भएकाहरु त आईसीयूमा पुर्याउन नपाउँदै बित्छन्,’ उनी भन्छन्, ‘पछिल्लो एक महिनामा अस्पतालको कोभिड भेन्टिलेटरमा भर्ना भएका अधिकांश संक्रमित निको भएर फर्किएका छैनन् । तिनीहरु सबैलाई निमोनिया भएको थियो ।’
कोरोना संक्रमितहरुको उपचारमा खटिएका अरु चिकित्सकहको अनुभव पनि यस्तै छ । ‘होम आइसोलेसनमा बस्नेले लगातार अक्सिजको लेभल नापिरहनुपर्छ । आफूलाई सास फेर्न असहज हुनासाथ डाक्टरसँग सल्लाह लिनुपर्छ,’ श्वासप्रश्वास रोग विशेषज्ञ प्रा. डा. मिलेशजंग सिजापती बताउँछन् ।
किस्ट अस्पताल, महालक्ष्मीस्थानमा अहिलेसम्म ४ जना संक्रमितलाई भेन्टिलेटरमा राख्नुपर्यो । ती चारै जनालाई निमोनिया भएकाले बचाउन नसकिएको चिकित्सक बताउँछन् ।
पछिल्लो समय सिकिस्त भएर अस्पताल पुग्ने अधिकांशमा निमोनिया देखिएको श्वासप्रश्वास रोग विशेषज्ञ तथा किस्ट मेडिकल कलेजका मेडिसिन विभाग प्रमुख प्राध्यापक डाक्टर मिलेशजंग सिजापतीको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय मृत्यु भएका अधिकांश संक्रमितमा कडा किसिमको निमोनिया देखिएको थियो । ‘कडा निमोनिया भएर अस्पताल ढिलो ल्याएका अधिकांश संक्रमितको आईसीयूमै मृत्यु हुन्छ’ उनले भने ।
पाटन अस्पतालको अवस्था पनि उस्तै रहेको कोभिड संयोजक डाक्टर विमल पाण्डे बताउँछन् ।
साइलेन्ट निमोनियाको खतरा
टेकु अस्पतालका चिकित्सक शेरबहादुर पुन पछिल्लो समय संक्रमितहरुमा ‘साइलेन्ट निमोनिया’ देखिएको बताउँछन् । यसले बिरामीले थाहा नपाउँदै फोक्सोमा क्षति गर्ने उनको भनाइ छ ।
पुनका अनुसार सामान्य खोकी र ज्वरोले केही असर गर्दैन भनेर घरमै बसेकाहरुलाई ‘साइलेन्ट निमोनिया’को खतरा छ । पछिल्लो समय मृत्यु हुने अधिकांश संक्रमित यही अवस्थाबाट गुज्रिएका छन् ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर २९ हजार १९७ संक्रमित होम आइसोलेसनमा छन् ।
यही तथ्यांक अहिलेको मुख्य समस्या भएको श्वासप्रस्वास रोग विशेषज्ञ सिजापतीको भनाइ छ । उनका अनुसार होम आइसोलेसनमा बस्ने संक्रमितहरु ढिलो अस्पताल पुग्दा निमोनिया विकास भइसकेको हुन्छ र उपचार गर्न समस्या परेको छ ।
एक कोभिड अस्पतालका चिकित्सक निमोनिया भएर अस्पताल आउनेमध्ये बचाउन सक्ने सम्भावना भएकालाई मात्र बेड उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको बताउँछन् ।
अधिकांश अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली छैनन् । एकपटक आईसीयू वा भेन्टिलेटरमा पुगेका सक्रमितलाई १०÷१२ दिनसम्म पनि राखेर उपचार गर्नुपर्छ ।
त्यसैले बाँच्ने सम्भावना बढी भएकाहरुलाई (विशेष गरी युवा र दीर्घरोग नभएका) बेड प्राथमिकतामा राखेको उनी बताउँछन् । ‘बचाउने सम्भावना कम भएकालाई राखेर बेड होल्ड गर्न थाल्यो भने शतप्रतिशत बचाउन सकिनेहरुलाई अन्याय हुन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘संक्रमितहरु सिकिस्त नहुँदै अस्पताल आउने हो भने यो अवस्था हुँदैन ।’
टेकु अस्पतालका चिकित्सक डाक्टर बास्तोला पनि ‘साइलेन्ट निमोनिया’का कारण धेरै संक्रमितको मृत्य भएको बताउँछन् । उनका अनुसार ज्वरो र खोकी लाग्दासमेत मानिसहरु अस्पताल नआएकाले यस्तो किसिमको दुर्घटना बढेको छ । भन्छन्, ‘समयमै अस्पताल आए त धेरै मृत्युदर घटाउन सकिन्थ्यो ।’
बास्तोलाका अनुसार उनले शनिबार मात्र अस्पतालमा पाँचजना संक्रमितसँग कुराकानी गरेका थिए । सबैमा साइलेन्ट निमोनिया थियो ।
‘किन यति ढिलो अस्पताल आउनुभएको भन्ने प्रश्न गर्दा ‘खासै गाह्रो भएको थिएन, घरमा नै ठीक होला भनेर बस्दा ढिलो भयो,’ भन्ने जवाफ पाएको उनले सुनाए ।
होम आइसोलेसनमा बसेकाहरुलाई कुन बेला अस्पताल आउने भन्ने ज्ञान नहुदाँ यो समस्या निम्तिएको डाक्टर पुन बताउँछन् । ‘अस्पतालमा बेड नभएर एउटा समस्या छ भने अर्को समस्या संक्रमितमा पर्याप्त जानकारी पनि छैन’ उनी भन्छन्, ‘सिकिस्त भएकाहरुले बेड नपाएको सुन्दा र सरकारको पछिल्लो नियमको कारण पनि संक्रमितहरु अस्पताल आउन ढिलो गरेका छन् ।’
लुकेका लक्षण
कोरोना भाइरसको संक्रमणका कारण फोक्सोमा पहिले नै असर गरिसकेको हुन्छ । तर, कतिपय अवस्थामा निमोनिया विकास भइसक्दा पनि खोकी लाग्ने या ज्वरो आउँदैन ।
कतिपयको निमोनिया पत्ता लगाउन सिटी स्क्यान, रगत र शरीरमा अक्सिजनको मात्रा जाँच गर्नुपर्छ । त्यसैले कोरोना संक्रमितलाई सामान्य खोकी लागेर ज्वरो आएको छ भने तत्काल अस्पताल जानुपर्ने उनले बताए ।
संक्रमितमा अक्सिजनको लेभल घट्नु भनेको निमोनिया देखिएको संकेत मिल्नु भएको सिजापती बताउँछन् । उनका अनुसार शरीरमा अक्सिजनको लेभल घट्न थालेपछि २ देखि ५ घण्टाभित्रै फोक्सोमा गम्भीर असर गर्न थाल्छ । त्योबेला ‘हाइ फ्लो अक्सिजन’सहितका आईसीयू उपचार मिलेन भने मृत्यु पनि हुन सक्छ ।
‘त्योबेला घरमा अक्सिजन लगाएर मात्र हुन्न,’ उनी भन्छन्, ‘चिकित्सकको विशेष निगरानीमा उपचार गराउन ढिला गराउनुहुन्न ।’
संक्रमितहरु कुन अवस्थामा अस्पताल जाने ?
‘अक्सिजनको लेभल घटेर ९४ भन्दा कम हुन थालेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग सल्लाह गरिहाल्नुपर्छ,’ डाक्टर सिजापती भन्छन्, ‘यससँगै खोकी र ज्वरो पनि आएको छ भने तुरुन्त अस्पताल गइहाल्नुपर्छ ।’
दुई दिनदेखि खोकी र ज्वरो आएको छ, सास फेर्न पनि गाह्रो भएको छ भने तुरुन्त अस्पताल जानुपर्छ । नभए कडा किसिमको निमोनिया विकास भइसक्ने डाक्टर पुन बताउँछन् ।
‘कडा किसिमको निमोनिया भएकालाई छिटो अस्पताल पुर्याइएन भने बचाउन सकिन्न,’ डाक्टर पुनसँग सहमति जनाउँदै टेकुका डाक्टर बास्तोला भन्छन्, ‘अहिलेको मुख्य समस्या भनेकै साइलेन्ट निमोनिया हो ।’
‘अक्सिजनको लेभल घट्न थालेको ५ घण्टाभित्र अस्पताल पु¥याइएन भने संक्रमितको मृत्यु हुने सम्भावना धेरै हुन्छ’ अधिकांश चिकित्सकको निष्कर्ष छ, ‘त्यसैले होम आइसोलेसनमा बस्दा बेलाबेला अक्सिमिटरले अक्सिजन लेभल नाप्नुपर्छ ।’







