कात्तिक २५, काठमाडौं ।
भारतले लगाएको अघोषित नाकाबन्दीपछि २०७२ सालमा उत्तरी नाका खोल्न सरकारले विशेष ध्यान दियो । संविधान जारी भएपछि बनेको केपी ओली नेतृत्वको सरकारले चिनियाँ नाका खुलाउनको लागि पहल मात्रै गरेन ।
त्यतिबेला दुइ सरकारबीच चिनियाँ बन्दरगाह भएर तेस्रो मुलुकबाट समेत सामान आयात र निर्यात गर्न पाउनेगरी पारवाहन सम्झौतासमेत भयो । उक्त सम्झौता अनुसार ४ वटा सामुद्रिक बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहको प्रयोग नेपालले गर्न पाउने सहमति भयो ।
यो सम्झौता गरेसँगै नेपाल भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकमा रुपान्तरण भएको घोषणा ओलीले गरे । उनले अहिले पनि बारम्बार यो बताउने गरेका छन् ।
नेपाली पक्षले मात्रै नेपाललाई भुजडित बनाउने घोषणा गरेको होइन, चीन आफैंले पनि यो भन्दै आएको छ । अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल आउँदा उनैले नेपाललाई भुजडित मुलुक बनाउने घोषणा गरेका थिए ।
उनको त्यो घोषणापछि चीन सरकार र यसअन्तर्गतका निकायले नेपालको सम्बन्धमा व्यक्ति गरिएका जुनसुकै डकुमेन्टमा पनि यो विषय उल्लेख गर्दै आएको छ । केही समयअघि जारी चीन र नेपालका राजनीतिक दलहरुकीचको संयुक्त अन्तरक्रिया कार्यक्रममा पनि चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट यस्तै अभिव्यक्ति आएको थियो ।
तर, व्यवहारमा तेस्रो मुलुकबाट सामान आउने कुरा त परै जाओस्, सीमावर्ती बजारबाट सामान ल्याउन समेत निकै कष्ट भुग्नुपर्ने अवस्था छ ।
नाकामा अवरोधको श्रृंखला
चिनियाँ नाकाको अवरोध श्रृंखलाका कारण अघिल्लो माघदेखि सरकारी अधिकारी, भन्सार प्रशासनदेखि व्यवसायीहरु समेत आजित भइसकेका छन् । योबीचमा दुईवटै नाका ६÷६ पटकसम्म बन्द हुने र खुल्ने क्रम चलिसकेको छ ।
चीनमा कोरोनाभाइरस महामारी देखिएको भन्दै माघ १३ गते चीनले पहिलोपटक दुवै नाका बन्द गरेको थियो । त्यसमध्ये तातोपानी नाका चैत २७ गतेदेखि नै एकतर्फी रुपमा खुला गरिएको थियो भने रसुवागढी नाका भने असार २२ मा मात्रै खोलिएका थियो ।
असार २२ मा खुला भएपछि पनि चीनबाट सहज रुपमा सामान आउन सकेन । कोरोनाभाइरसको सतर्कताका लागि भन्दै चीनले आफ्नै कन्टेनरमार्फत् दैनिक ४ वटा मात्रै कन्टेनर नेपाल पठाउन थाल्यो ।
नाकापारि हजारौं कन्टेनर रहेको अवस्थामा ४ वटा कन्टेनर आउनुको कुनै अर्थ नै भएन । त्यसरी पठाउने कन्टेनर सीमा वारीसम्म चिनियाँ ड्राइभरले ल्याइदिने गर्थे ।
नेपाली पक्षले त्यसलाई अर्को ट्रकमा लोड गरेर गन्तव्यमा लैजान्थे ।
तर, असार पहिलो साता तातोपानी नाका बन्द भएपछि सो नाकाबाट भित्रिन लागेका स्याउहरुले दैनिक ४ वटाको कोटा धान्न थाल्यो । यसले गर्दा महिनौंदेखि रोकिएको सामान आउन पाएन । तर, भदौ १२ गते चिनियाँ क्षेत्रमा गएको पहिरोपछि त्यो पनि बन्द भयो ।
पहिरो पन्छिएपछि भदौ १२ गतेदेखि फेरि सामान आउन थाल्यो । त्योबेला अघिल्लो पटकभन्दा दैनिक दोब्बर कन्टेनर पठाउने सहमति गरेर नाका खोलिएको थियो । तर ३ दिन नबित्दै भदौ १५ देखि पुनः नाका बन्द गरिएको थियो ।
उता, भूकम्पपछि बन्द भएको तातोपानी नाका लामो कुटनीतिक प्रयासपछि २०७६ जेठ १५ गतेदेखि खुलेको थियो । माघ १३ गतेदेखि बन्द भएको सो नाका चैत २७ गतेदेखि एकतर्फी रुपमा खोलिएको थियो ।
तर चिनियाँ हिमताल फुटेर भोटेकोशी नदीमा बाढी आउनसक्ने भन्दै असार पहिलो साता यो नाका फेरि बन्द गरियो । त्यसपछि एकैपटक असोज ३० गते नाका खुला गरे पनि एकजना कामदारमा कोरोना पोजेटिभ देखिएपछि नाका फेरि बन्द भएको थियो ।
लामो प्रयासपछि कात्तिक १३ गतेदेखि नाका खुलेको छ । तर, अहिले पनि दुईवटा नाकाबाट दैनिक ८ देखि १० वटाभन्दा बढी कन्टेनर नेपाल भित्रिन सकेको छैन ।
आत्महत्यासम्मको घटना, घुसको आरोप
त्यसो त लामो समयसम्म सामान रोकिँदा व्यवसायीले आत्महत्यासम्म गरेको घटनासम्म बाहिर आएका छन् । काठमाडौंको पेप्सीकोला बस्ने व्यापारी हरेराम पौडेलले झुन्डिएर आत्महत्या गरेका हुन् ।
चीनबाट आयात गरिएका सामान लामो समय बाटोकै अड्किएपछि व्यापार ठप्प हुँदा उनी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको व्यापारीहरुको दाबी छ ।
अहिले तातोपानी र रसुवागढी दुबै नाकाबाट सामान जाँचपास गराउन चिनियाँ एजेन्टले घुस माग्न थालेको गुनासो समेत भन्सार कार्यालयमा आउन थालेका छन् । त्यतिमात्रै होइन, सहज रुपमा सामान आउन नसक्दा ढुवानी खर्चमा समेत अस्वभाविक वृद्धि भएको छ ।
यसैबीच नाकामा हजारौं कन्टेनर अलपत्र परेपछि चिनियाँ बजारबाट सामान ल्याएर बिक्री गर्दै आएका व्यापारीहरुले सीमा नाकामै धर्ना दिनेसम्मको चेतावनी दिएका छन् ।
सोमबार राष्ट्रिय व्यवसायी महासंघ लगायत संस्थाका प्रतिनिधिहरु सम्मिलित बैठकमा नाका सहज रुपमा खुलाउन गरिएको प्रयास सफल हुन नसकेपछि सीमानाकामै गएर धर्ना दिनेबारे छलफल गरिएको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।
‘जति प्रयास गर्दा पनि सामान आउन ल्याउन सकिएन । व्यापारीले ऋण खोजेर ल्याएको सामान अड्किएको अड्कियै छ,’ कटुवालले भने, ‘हामी त अब आफैं नाकामा गएर धर्ना दिने सोच बनाएका छौं । यसबारे छिटै निर्णय गर्छौं ।’
सीमा नाकामा अवरोध भइरहँदा परराष्ट्र मन्त्रालय कुटनीतिक पहल गर्नुको सट्टा मौन देखिएको छ । मन्त्रालयका सह–प्रवक्ता सुरेश अधिकारी भन्छन्, ‘हामीले कुटनीतिक पहल गरेर दुईवटै नाका खुलाउने व्यवस्था मिलाएका हौं । नाकाबाट सामान आउन सुरु भनेर हामीले मिडियामार्फत् नै थाहा पाएको हो । सामान आउन नसकेकोबारे अपडेट भएन ।’
मन्त्रालयले नाका खुलाउन कुटनीतिक प्रयास गरेर सफल भइएको भन्दै ढुक्क भइरहँदा आपूर्ति समस्या भने ज्युँका त्युँ छ । द्विपक्षीय व्यापारमै यस किसिमको समस्या रहँदा अरु ठूला सम्झौताको कार्यान्वयन हुनेमा आशंका थपिएको सरोकारवालाहरु बताउँछन् ।







