कोरोनाका कारण होमस्टेहरू समस्यामा

कात्तिक २५, बाग्लुङ ।
पर्यटकीय सम्भावना भएका बाग्लुङका गाउँमा पछिल्लो समय होमस्टे (घरबास) कार्यक्रम निकै प्रभावकारी देखिएको छ । कोरोना भाइरसले महामारीको रूप नलिएको भए अहिले होमस्टे भरिभराउ हुने सिजन हो ।

दशैँ तिहारको समयमा त झनै आन्तरिक पर्यटकको होमस्टेमा लर्को नै लाग्ने गर्दथ्यो । यस वर्ष कोरोनाका कारण होमस्टेहरु समस्यामा परेका छन् ।

गत चैतमा बन्दाबन्दी भएयता जिल्लाका होमस्टे अपवाद बाहेक सुनसान बनेका छन् । जिल्लाको पहिलो तथा चर्चित होमस्टेको रूपमा रहेको बागलुङ नगरपालिका–१० भकुण्डेको अतिथि सत्कार होमस्टे कोरोनाका कारण सुनसान छ ।

कोरोना सङ्क्रमणको जोखिमले फोन सम्पर्क गरेर आउन खोज्नेलाई पनि पाहुना नराख्ने जानकारी दिन बाध्य भएको घरबासका सञ्चालक खिमबहादुर थापा बताउँछन् । ‘कोरोना कहरका बीच पनि यहाँ आउन खोज्नेहरुले त सम्पर्क गरिरहेका छन्,’ उनले भने, ‘हामीले नै सङ्क्रमण जोखिमको डरले नआउन भनेका छौँ । पाहुनाहरुले चित्त दुखायौँ कि भन्ने लागेको छ तर के गर्नु अहिले अवस्था नै यस्तो छ ।’

कोरोना महामारी शुरु भएपछि अहिलेसम्म घरबासमा एक जना पनि पाहुना नआएको सिग्दी सामुदायिक होमस्टेका अध्यक्ष हिराबहादुर पुनले बताए । बन्दाबन्दीको अवधि घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने सिजन थियो । कोरोनाले गर्दा घरबास व्यवसाय पूर्णरूपमा प्रभावित भएको छ ।

‘पर्यटक आउने समयमा बन्दाबन्दी भयो, बन्दाबन्दी भएदेखि एक जना पनि पाहुना आउनु भएन । यस्तो बेला राख्ने कुरा पनि भएन, अहिले झनै सङ्क्रमणको जोखिम छ,’ अध्यक्ष पुनले भने, ‘अझै केही समय पाहुना राख्ने अवस्था सिर्जना होला जस्तो छैन । यसले गर्दा धेरै ठूलो नोक्सान बेहोर्नु पर्ने बाध्यात्मक अवस्था छ ।’

विगतमा चैतदेखि असोज÷कात्तिकसम्म धेरै पाहुना घरबासमा आउने गरेको र आम्दानी पनि राम्रो हुने गरेको थियो । गत वर्ष घरबासमा पाहुनाहरुको बाक्लो उपस्थितिले स्थानीयस्तरमा उत्पादन भएका सामग्रीले पनि राम्रो बजार पाएको घरबास सञ्चालकहरु बताउँछन् ।

यस वर्ष उत्पादनलाई बढाएको तर बिक्री नहुँदा समस्या परेको स्थानीयवासीको गुनासो छ । ‘पोहोर साल धेरै पाहुना आउनुभयो, हामीले गाउँमा उत्पादन गरेको ‘लोकल’ कुखुरा, खसी, बोका, कोदोलगायतका चिजहरु अन्य ठाउँबाट मगाउनु परेको थियो । त्यही अवस्था आउँछ भनेर हामीले नै कुखुरा लगायतका सामग्री गाउँमै उत्पादन गर्यौँ,’ पुनले भने, ‘के गर्ने यस्तो अवस्था आयो, उत्पादन भएका सामग्री बिक्री हुन सकेनन्, नोक्सान भयो ।’

बरेङ गाउँपालिका–२ सिग्दी गाउँमा मगर समुदायका केही व्यक्तिले मिलेर पाँच घरमा गत वर्षदेखि सामुदायिक घरबास सञ्चालन गरेका थिए । सञ्चालन गरेको केही समयमै सो घरबासले धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको थियो ।

यस्तै निसीखोला गाउँपालिकाका–२ को अर्नाकोटमा रहेको अर्नाकोट सामुदायिक घरबास पनि कोरोनाका कारण उस्तै समस्यामा छ । कुनै समय आन्तरिक पर्यटकले भरिभराउ हुने घरबास अहिले सुनसान छ ।

गत वर्षदेखि नै सञ्चालनमा आएको यो घरबास धेरैको रोजाइमा परेको थियो । यो घरबास उच्च पहाडको शिरमाथि रहेकाले धेरैको आकर्षण र आगमन हुने गरेको थियो । कोरोना सङ्क्रमणका कारण घरबास सुनसान भएको सञ्चालक लालबहादुर कुँवरले बताए ।

घरबास केन्द्रित गरेर उत्पादन गरिएका स्थानीय उत्पादन पनि मूल्य र बजार नपाएर खेर जाने अवस्थामा पुगेको उनको भनाइ छ । जिल्लामा २८ सामुदायिक घरबास रहेका छन् । (रासस)