नेपाल भारत परराष्ट्र सचिवस्तरीय बैठक हुने

कात्तिक २५, काठमाडौं ।
भारतीय सेनापति मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिवस्तरीय बैठक हुने भएको छ । त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडि बढाइएको छ ।

स्रोतका अनुसार भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने लगभग निश्चित भएको छ । यकिन मिति केही दिनमा नै सार्वजनिक हुने स्रोतको दाबी छ ।

विदेश सचिवको जिम्मेवारी सम्हालेपछि उनले अन्य छिमेकी मुलुकको भ्रमण गरेपनि नेपालको गरेका छैनन् । छिमेकी मुलुकको भ्रमणकै सिलसिलामा श्रृंगला आइतबारदेखि छिमेकी मुलुक माल्दिभ्सको भ्रमणमा छन् ।

नेपाल भ्रमणको क्रममा कालापानी, लिपुलेक, सुस्ता लगायतका विषयमा कुराकानी हुने वा नहुने भन्ने यकिन छैन । दुई देशको बिचमा सन् २०१४ मा सुस्ता र कालापानीको विषयमा परराष्ट्र सचिव तहमा कुराकानी गर्ने सहमति भएको थियो । तर सीमा केन्द्रित एउटा बैठक पनि बस्न सकेको छैन ।

यद्यपि उक्त भ्रमणको समयमा अन्य द्विपक्षीय एजेण्डाहरुको बारेमा भने छलफल हुने बताइएको छ । सो छलफलले नेपाल–भारत संयुक्त आयोगको बैठकका लागि आधार तयार पार्ने अधिकारीहरुको भनाइ छ ।

दुवै देशका परराष्ट्र सचिवले नेतृत्व गर्ने संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा अर्काे महिना गर्ने तयारी भइरहेको छ । सो आयोगले समग्र द्विपक्षीय विषयहरुमा गहन छलफल गरी समाधानका लागि कर्मचारीतन्त्रलाई निर्देशन दिनेछ ।

सो आयोगको बैठकमा सीमा विवादका सम्बन्धमा कुराकानी हुने छ । यसपटक आयोगको बैठक नयाँ दिल्लीमा हुने कार्यक्रम छ ।

त्यसैगरी दुई देशको बिचमा सुस्ता र कालापानीबाहेक अन्य क्षेत्रमा देखिएका सीमा सम्बन्धी प्राविधिक समस्याहरु समाधान गर्न गठन गरिएको बाउन्ड्री वर्किङ गु्रप बैठकको तयारीसमेत अगाडि बढाइएको छ ।

सो बैठकका लागि नेपालले अगष्ट महिनामा नै प्रस्ताव गरेपनि भारत तयार भएको थिएन तर पछिल्लो समयमा सो बैठकका लागि भारत सकारात्मक देखिएको छ ।