कात्तिक २६, काठमाडौं ।
गृह मन्त्रालयले बिना दर्ता सञ्चालनमा रहेका अवैध क्रसर एवं बालुवा प्रशोधन उद्योगहरू तत्काल बन्द गराउन निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको सिंहदरबारमा बसेको बुधबारको बैठकले निर्णय गरेपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विना दर्ता सञ्चालित उद्योग बन्द गर्न निर्देशन दिइएको हो ।
मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत र नापी कार्यालयका प्रमुखसहित इञ्जिनियर सम्मिलित टोलीबाट तत्काल अनुगमन गर्न पनि भनेको छ ।
अनुगमनबाट क्रसर मापदण्ड अनुसार भएनभएको, तोकिएको जग्गामा सञ्चालन भएनभएको, दर्ताका भएका वेला तोकिएका अन्य शर्त पालना गरिएनगरिएको लगायतका विवरण संकलन गरी ७ दिनभित्र रिपोर्ट पेश गर्न पनि गृहले मातहतका निकायलाई निर्देशन दिएको हो ।
राष्ट्रिय गौरवका आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि क्रसर सञ्चालन गरिएको भए त्यसको समेत विवरण पठाउन भनिएको छ ।







