कात्तिक २६, काठमाडौं ।
एकाबिहानै कसैलाई ‘गुड मर्निङ’ भन्न होस् वा बेलुका ‘गुड नाइट’ भन्न, यस्ता मेसेजलाई इ–कार्डबाट सुन्दर र आकर्षक बनाउन सकिन्छ ।
कसैको जन्मदिन, वैवाहिक वर्षगाँठ वा बढुवा तथा अन्य अवसरमा आकर्षक तस्वीर र सन्देश राखेर शुभकामना दिन मेसेज लेख्न, विभिन्न कार्ड बनाउन निकै समय खर्च गर्छौँ ।
चाडपर्वका बेला पनि हामीसँग व्यस्त समयकाबीच सकभर छिट्टै यस्ता कार्ड बनाएर साथीहरूलाई पठाउन शुभकामना सन्देश पठाउन सकियोस् भन्ने चाहना हुन्छ । अब यस्ता ‘रेडिमेड’ शुभकामना कार्ड बनाउन सहज भएको छ ।
कुनै चाडपर्व वा उत्सवको शुभकामना नेपाली भाषामा दिन ‘शुभकामना’ एपको प्रयोग गर्न सकिन्छ । उपवेद टेक्नोलोजीले बनाएको यो एप हाल १० हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् ।
यो एप भर्खरै लञ्च भए पनि यसको परीक्षणका लागि बेटा भर्शन एक वर्ष अघिदेखि नै उपलब्ध गराइएको थियो । यसमा तस्वीर र ‘जिआइएफ’ फाइलमा समेत आफ्नो शुभकामना सन्देश लेखेर उक्त कार्ड मोबाइलमा सेभ गर्नुका साथै सामाजिक सञ्जालमा शेयर गर्न सकिन्छ ।
फेसबुकबाट लग इन गरी यसमा वैवाहिक वर्षगाँठ, दशैँ तिहार जस्ता अवसरमा नेपाली र अंग्रेजी भाषामा शुभकामना दिन सकिन्छ । हरेक चाडपर्वका लागि बेग्लाबेग्लै कार्ड र शुभकामना अनुसारका तस्वीर छान्न सकिने सुविधा दिइएको छ ।
यसरी बनाइएका इ–कार्डहरू फेसबुक, भाइबर लगायतका माध्यमबाट कसैलाई पठाउन र शेयर गर्न सकिन्छ । बिस्तारै नेपालमा बढीले प्रयोग गर्ने अन्य भाषामा पनि शुभकामना सन्देश लेखेर उपलब्ध गराउने एपको उद्देश्य छ ।
प्रयोगकर्ताले आफ्ना वा आफूले चाहेको तस्वीर यसमा प्रयोग गर्न सक्छन् । विभिन्न अवसरमा शुभकामना दिनुपर्ने राजनीतिमा संलग्न र व्यवसायीका साथै सर्वसाधारणलाई समेत यो एप लाभदायक हुने देखिन्छ ।







