लगानी बोर्डले तीन परियोजनाको लगानी स्वीकृत गर्यो

कात्तिक २६, काठमाडौं ।
लगानी बोर्डले तीन वटा परियोजनाको लगानी स्वीकृत गरेको छ । ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले यो लगानी स्वीकृत गरेको हो । सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावाट क्षमताको धुन्साखोला जलविद्युत परियोजनाको १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ स्वीकृत भएको छ ।

साथै ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाको १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाको १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको लगानी पनि बैठकले स्वीकृत गरेको हो ।

बैंठकमा बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरि बोर्डको रणनीतिक योजना तयार गर्ने छलफल भएको थियो ।

लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रलाई स्वचालित बनाएर सहज र शीघ्र सेवा प्रदान गर्ने छलफल भएको बोर्डले जनाएको छ । साथै बैठकबाट ‘नलेज म्यानेजमेन्ट पोर्टल’ स्थापना गर्ने समेत निर्णय भएको छ ।

प्रधानमन्त्री ओलीले परियोजना कार्यान्वयनमा भइरहेको ढिलाईप्रति चासो राख्दै प्रविधिको प्रयोग गरेर प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए । पछिल्लो समयमा बोर्डमार्फत हुने परियोजनाको काम प्रभावकारी बन्न नसकेको निजी क्षेत्रबाट गुनासो आएको थियो । यही गुनासोलाई मध्यनजर गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।

उनले कोरोनाका कारण नियमित बैठक बस्न नसकेको बताउँदै आगामी दिनमा नियमित बस्ने जानकारी दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत भइरहेका परियोजनाका बारेमा जानकारी गराएका थिए ।