‘नरवणेको नेपाल भ्रमणले दुई देशबीच निरन्तर उच्च तहको भ्रमणको बाटो खोल्यो’

कात्तिक २६, काठमाडौं ।
नेपालका लागि पूर्व भारतीय राजदूत मन्जिभ सिंह पुरीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणलाई नेपालमा निकै स्वागत गरिएको बताएका छन् । साथै यो भ्रमणले दुई देशबीचमा निरन्तर उच्च तहको भ्रमणको बाटो खोल्न सक्नेसमेत उल्लेख गरेका छन् ।

भारतीय पत्रिका दि ट्रिबुयनमा भारतीय सेनापतिको नेपाल भ्रमणको सन्दर्भमा एक लेख प्रकाशित गर्दै राजदूत पुरीले नेपाल र भारतको सम्बन्धमा कुनै पनि खालको दुरी हुन नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘भारतको सेना प्रमुखलाई आमन्त्रण गर्ने नेपालको गेष्चर र त्यसलाई स्वीकार गर्ने भारतको निर्णयले द्विपक्षीय नियमित कुराकानी शुरु गर्ने पारस्परिक चासोलाई संकेत गर्छ ।’

उनले रअ का प्रमुख सामन्त कुमार गोयलको जस्तै सेनापतिको भ्रमणले पनि मिडियाको अस्वाभाविक ध्यान आकृष्ट गर्नु स्वभाविक भएको समेत बताएका छन् । उनले नेपाली र भारतीय सेनाबीच विशेष सम्बन्ध रहेको बताउँदै दुवै देशका सेनाको सहयोगलाई विस्तृतमा उल्लेख गरेका छन् ।

अन्य भारतीय कूटनीतिज्ञ जस्तै पुरीले पनि लेखमा नेपालमा ‘चाइना कार्ड’ खेल्ने गरेको र प्रधानमन्त्री केपी शर्मा ओली भारत विरोधी राष्ट्रवादको आडमा सत्तामा आएको उल्लेख गरेका छन् ।