कलङ्कीमा ट्रक ठोक्किँदा तीनको मृत्यु

कात्तिक २७, काठमाडौंं ।
काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा बिहीबार बिहान भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्काे ट्रकले ठक्कर दिएको थियो ।

उक्त घटनामा कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोखरेलका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । (रासस)