वैज्ञानिकले बनाए कोरोना भाइरस मार्न सक्ने प्लाज्मा जेट

कात्तिक २७, काठमाडौं ।
अमेरिकाका वैज्ञानिकले क्षणभरमै कोरोना भाइरस मार्न सक्ने उपकरण बनाएको बताएका छन् ।

डेलिमेल अनलाइनमा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले ३० सेकेन्डभन्दा कम समयमै कोरोना मार्न सक्ने ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएका हुन् ।

थ्रिडी प्रिन्टरबाट प्रेसर प्लाज्मा जेटको स्प्रे बनाइएको हो र त्यसको प्रयोग सफल भएको अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

यो प्लाज्मा जेटले धातु, छाला र प्लास्टिकको सतहमा रहेका कोरोनालाई ३० सेकेन्डभित्रै मार्न सक्ने वैज्ञानिकले बताएका छन् । यो उपकरण कोरोनाविरुद्धको लडाइमा एउटा महत्वपूर्ण हतियार हुने अपेक्षा गरिएको छ ।

‘फिजिक्स अफ फ्लुड्स’मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार यो स्प्रे मास्कमा पनि प्रयोग गरी हेर्दा उसैगरी भाइरस मार्न सक्ने पाइएको छ । (एजेन्सी)