रौतहटमा युवतिको गोली प्रहार गरि हत्या

कात्तिक, २७ गौर । रौतहटमा एक युवतिको हत्या गरिएको छ । बुधवार राति करिब ११ बजेतिर जिल्लाको माधवनारायण नगरपालिका ७, लौकाहा टोलकी १८ वर्षीया अमृता कुमारीको गोली हानी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अमृताको दायाँ कञ्चटमा गोली प्रहार गरिएको छ । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आमा सितादेवी साह घरको ढोका खोलेर बाहिर रहेका शौचालयतर्फ गएको मौका छोपेर अज्ञात व्यक्तिले घरभित्र छिरेर गोली प्रहार गरी अमृताको हत्या गरेका हुन् ।

गोलीको आवाज सुनेपछि भागेर शौचालयबाट आएकी सीताले छोरी अमृतालाई छट्पटाइरहेको अवस्थामा फेला पारेकी थिइन् । उपचारका लागि अस्पताल लैजान गुहार माग्न नपाउँदै उनको मृत्यु भएको आमा सीतादेवीले प्रहरीलाई बयान दिएकी छन् ।

प्रहरीले घटनाको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा युवतीको प्रेम प्रसंगका कारण हत्या भएको हुनसक्ने देखिएको छ ।