कर्मचारी र गाउँपालिका अध्यक्षबाट अपमानित भएको भन्दै उपाध्यक्षले दिइन् राजिनामा

मंसिर ३०, हेटौडा ।
मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पदबाट राजिनामा दिएकी छन् ।

गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी उपाध्यक्ष बिष्टले सोमबार राजीनामा दिएकी हुन् । उनले अध्यक्ष एकराज उप्रेतीलाई राजिनामा बुझाएकी हुन् ।

बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा अध्यक्ष र उपाध्यक्षबीच रहेको विवादले ठूलो रुप लिँदा उपाध्यक्षले राजीनामा नै दिएको गाउँपालिका स्रोतले बताएको छ ।

सोमबार उपाध्यक्ष विष्टले राजीनामा दिएपछि अध्यक्ष उप्रेतीले राजीनामाबारे छलफल गरेको स्रोतले बताएको छ । अध्यक्ष उप्रेतीले भने आधिकारिक रुपमा राजीनामा नआएको बताए । ‘आधिकारिक रुपमा आएको छैन, हल्ला चलेको मात्र हो,’ उनले भने, ‘मैले अहिलेसम्म आधिकारिक रुपमा बोल्ने अवस्था छैन, हल्ला सुनेको छु ।’