लुम्बिनीबाट मनोनित सदस्यलाई प्रशिक्षण दिन नेकपाले चार नेतालाई जिम्मेवारी दियाे

पुस,०८ बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे  ओली समुहले  नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्न थालेको छ । केन्द्रीय कमिटीमा मङ्गलबार सातै  प्रदेशका मनोनीत  केन्द्रीय सदस्य र पार्टीका अगुवा कार्यकतालाई  आज र भोलि काठमाडाँैमा प्रशिक्षण दिन थालेको हो ।

प्रशिक्षणका लागि नेकपाले विभिन्न नेतालाई खटाएको छ । सातै प्रदेशका केन्द्रीय सदस्यलाई विभिन्न स्थानमा प्रशिक्षण दिन थालिएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

लुम्बिनी प्रदेशमा महासचिव विष्णुप्रसाद पौडेल, प्रदेश इन्चार्ज, शङ्कर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ। 

त्यस्तै प्रदेश नं १ मा सुवास नेम्वाङ, ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फे रहेका छन्।प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ।  वाग्मती प्रदेशमा इश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्माकुमारी अर्याललाई तोकिएको छ। 

गण्डकी प्रदेशमा रायमाझी, पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिनेछन्।कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य तथा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट,  ज्ञवाली, कर्णबहादुर थापा र डा विन्दा पाण्डेले प्रशिक्षण दिने जनाइएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको केन्द्रीय कमिटी बैठकले एक हजार १९९ केन्द्रीय कमिटी बनाएको थियो । तिनमध्ये ५५६ जनालाई मङ्गलबार नै केन्द्रीय कमिटीमा मनोनयन गरिएको थियो ।