पुस ,०९ काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो। पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।
महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए। तीमध्ये पाण्डेलाई महासचिव बनाउने सहमति जुटेको हो। पाण्डे तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए।
प्रधानमन्त्री केपी ओली पक्षका महासचिव भने विष्णु पौडल छन्। प्रचण्ड–नेपाल पक्षको आज बस्ने केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ।
अहिलेसम्म महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा थियाे
नेकपा एक हुँदा पहिलो वरियताका बरिष्ठ नेता रहेका झलनाथ खनालले भने सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन चाहेका थिए । पार्टी विभाजनमा नेता खनालले ‘त्याग’ गरेकाले उनले भनेको व्यक्ति नै महासचिव भएकाे एक नेताले बताए।
यसअघि प्रचण्ड-नेपाल समूहले मंगलबार केन्द्रीय कमिटी बैठक राखेर ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो। बुधबार बसेको उनीहरूको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नयाँ नेता बनाएको छ।







