प्रचण्ड-नेपाल समूह थप आक्रामक, अदालतको भूमिकामाथि आशंका

नेकपाको वैधानिक विवाद निरुपण शुरु

पुष, १० काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण शुरु भएको छ ।

निर्वाचन आयोग पुगेका पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहका नेताहरुलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको अवधिभन्दा अगाडि नै विवाद निरुपण हुने बताएका छन् ।

थपलियाले प्रचलित कानून र सर्वोच्च अदालतको नजीरहरुका आधारमा वैधानिकताबारे निर्णय हुने बताए । दल दर्ता हुँदाको विधान र केही संशोधन प्राप्त भएको संस्मरण गर्दै थपलियाले भने, ‘यो प्रक्रिया अगाडि बढाउँदा प्रचलित कानुनको आधारमा न्यायोजित निर्णय लिन्छौं ।’

वैधानिकता दावी गर्दै प्रचण्ड र माधव समूह नेकपाका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

कुन समूह नेकपा हो र कसले नयाँ नाम राख्नुपर्नेसम्म टुंगिन बाँकी छ । दुबै समूहले पार्टीको संगठन, नाम र निर्वाचन चिन्ह दाबी गरिरहेका छन् ।

प्रचण्ड–माधव समूहले १७४ मध्ये ९३ जना प्रतिनिधिसभा सदस्य, ५९ मध्ये २४ जना राष्ट्रियसभा सदस्य र ४४५ मध्ये ३१५ केन्द्रीय सदस्य आफ्नो पक्षमा भएकाले पार्टी र निर्वाचन चिन्हमा आफ्नै हुने दाबी गरेको छ ।

ओली समूहले भने अध्यक्ष, महासचिव र बैठकको माइन्यूट आफ्नो साथमा रहेकाले वैधानिक नेकपाको दाबी गरेको छ । यो मुद्दा निर्वाचन आयोगले टुंग्याउनेछ । आयोगमा दुवै तर्फका पत्रहरु पुगिसकेका छन् ।

प्रचण्डले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन पनि प्रमुख निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

‘पार्टी एकीकरण गर्दा बनेको ४४१ जना र पछि थपिएका चार जनामध्ये अहिले हामीसँग ३१५ जना छौं । सशरीर बोलाउनुभयो भने पनि हामी उपस्थित हुन तयार छौं’, प्रचण्डले भनेका छन् ।

नेकपा विभाजन अगाडिका एक सय जनाले ११ सय बढी सदस्य संख्या पु¥याउँदैमा वैधानिकता नपाउने प्रचण्डले बताए ।

‘हामीसँग पार्टी विभाजन भएको अनुभव छ । विश्वास छ, आयोगले परम्परा, विधान र ऐनअनुसार निर्णय लिनेछ’, प्रचण्डले भने । त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको उनले बताए ।

‘दुई तिहाइ बढीको बैठक बसेर गरिएको माइन्युट बुझाएका छौं । त्यसो हुँदा वैधानिकता विवाद छिटो टुंग्याइयोस्’, प्रचण्डले भने ।

वैधानिकता नटुगिंदै वडातहसम्मै विभाजित

तर, वैधानिकता नटुंिगदै नेकपा अबको दुई साताभित्र वडा तहसम्मै विभाजन हुने कार्यक्रम सार्वजनिक भएको छ ।

दुवै समूह (ओली र प्रचण्ड–माधव) यति रफ्तारमा छुट्टै पार्टी संरचना निर्माण गर्नतिर कस्सिएका छन् कि एकताको २९ महिनामा मिल्न सकस परिरहेको पार्टी, पुस मसान्तअघि नै वडातहसम्मै दुई भागमा बाँडिँदै छ ।

पुस ७ मा छुट्टा–छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएर विभाजनको प्रष्ट संकेत दिने गरी निर्णय गरेका दुवै समूहले विहीबार एकैपटक र समयमा केन्द्रीय कमिटी बैठक राखेर वडासम्मै विभाजनको कार्यक्रम तय गरेका छन् ।

बबरमहलमा सकिएको बैठकबाट प्रचण्ड(माधव समूहले पुस २५ सम्म वडासम्मै विभाजनको कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रमअनुसार, पुस ९ मा माइतीघर मण्डलामा सांसद र केन्द्रीय सदस्यहरुको भेला गरेर सर्वोच्च अदालत जाने अनि दिउँसो २ बजे पत्रकार सम्मेलन हुने छ ।

पुस ११ मा सबै प्रदेश कमिटीको बैठक बस्ने र पुस १२ मा ७७ वटै जिल्ला भेला र बैठक गर्ने प्रचण्ड(माधव समूहले निर्णय गरेको छ । त्यसैगरी, पुस १४ मा राजधानी उपत्यकासहित सबै जिल्लामा प्रदर्शन गरिने छ । त्यसै दिन जनसंगठनहरुको राजधानी उपत्यकामा भेला हुनेछ भने पुस २० मा सबै पालिकामा बैठक तथा भेला र पुस २५ मा वडा भेलाहरु हुनेछन् । अर्थात्, यो महिनाभित्रै पार्टी विभाजनमा माथिदेखि तलसम्म छुट्टै संरचनाहरु निर्माण हुने लगभग पक्का भएको छ ।

प्रचण्ड–माधव समूहले जस्तै ओली समूहको बैठकले तालिकाबद्ध कार्यक्रम त तय गरेको छैन । तर, चार दिनयताको गतिविधि हेर्दा ओली समूहले पनि प्रचण्ड(माधव समूहलाई जित्ने गरी गतिविधि र निर्णयहरु गर्ने अनुमान गर्न गाह्रो पर्दैन ।

प्रचण्ड–नेपाल थप आक्रामक

। नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड– नेपाल समूह थप आक्रामक भएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुद्ध सडक पदर्शनमा उत्रिएको छ । प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको थियो ।

प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा हामी ‘यहाँ छौं’ भन्दै धर्नामा बसेका थिए ।

आजै सर्वोच्च पुगेका यो समूहका नेताहरुले पत्रकार सम्मेलन गरेर थप आक्रामक अभिव्यक्ति दिएका छन् ।

अदालतको भूमिकामाथि आशंका

नेताहरुले सर्वोच्च अदालतको भूमिकाका विषयमा आशंका व्यक्त गरेका छन् । कतै सर्वोच्चले सरकारको कदम सदर गरिदिने हो कि भन्ने आशंका यो समुहमा रहेको पाइएको छ । यसकारण पनि नेताहरु थप आक्रामक भएका हुन् ।

‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं’ प्रचण्डले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।

नेपाल प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली इबी साँध्ने व्यक्ति भएको बताएका छन् । उनले पूर्व सहकर्मी एवं अध्यक्ष ओलीलाई गोमन सापसँग तुलना समेत गरे ।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए । उनले अघि भने, ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ ।’

गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको खनालले सुनाए ।

उनले नेकपाको आधिकारिक आफूहरु भएको भन्दै उनले केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको बेला रुखको बोक्रा मात्र भएको बताए ।

पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत बहुमत चाहिने भन्दै उनले भने, ‘अहिले संसद भंग गरेको अवस्थामा केन्द्रीय कमिटीमा ४० प्रतिशत चाहिन्छ । त्यसैले नेकपा फुटेको छैन, चोइट्याउन खोजेको हो । रुखका बोक्रा निस्किन सक्छन्, बोक्रा निस्किँदा रुख नै बढ्यो भन्न मिल्छ र ? बालुवाटारमा भेला भएको बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ ।’

कारबाहीमा ओली अगाडि

एकअर्कालाई कार्बाहीको निर्णयमा पनि ओली समूह अगाडि देखिएको छ ।

नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय भएको केही घण्टापछि बसेको प्रचण्ड–माधव समूहको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।

श्रेष्ठलाई हटाएर प्रदीपकुमार ज्ञवालीलाई प्रवक्ता बनाइयो भने केपी ओलीको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष नियुक्त गर्ने अर्को समूहले निर्णय ग-यो ।

इत्तर समूहमा लाग्नेलाई हटाएर त्यसको ठाउँमा आफ्नो पक्षलाई जिम्मेवारी दिने कार्यलाई ओली समूहले विहीबारसम्म कायमै राखेको छ । ओली समूहको केन्द्रीय समिति बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इञ्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी तोकेको छ ।

प्रदेश १ मा भीम आचार्य हटाएर सुवास नेम्वाङलाई इञ्चार्ज बनाइएको छ । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य हटाएर ईश्वर पोखरेललाई राखिएको छ ।

कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई इञ्चार्ज बनाइएको छ भने सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई इञ्चार्ज तोकिएको छ । प्रदेश २, गण्डकी र लुम्बिनीमा भने ओली समूहकै इञ्चार्ज थिए, उनीहरु यथावत रहेका छन् ।

प्रचण्ड समूह छाडेका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीलाई जनसंगठन इञ्चार्ज तोकेर ओली समूहले पार्टी विभाजनको सबै क्षेत्र समेट्ने प्रयास गरेको देखिन्छ । रायमाझीले पाएको जिम्मेवारीले गैरभौगोलिक संगठन विभाजनको कार्यक्रम तय गर्नेछ । तर, विहीबार मात्रै ओली पक्षको बैठकमा सहभागी बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई भने संगठनको ठोस जिम्मेवारी दिइएको छैन ।

वडा तहसम्म पुग्ने गरी तालिकावद्ध कार्यक्रम घोषणा नगरिए पनि प्रदेश इञ्चार्जहरु तोकिएकाले उनीहरुलाई त्यसबारे निर्णय लिने अख्तियारी दिइएको ओली समूहका केन्द्रीय सदस्य कृष्ण राई बताउँछन् । ‘तालिकावद्ध कार्यक्रम त घोषणा गरिएको छैन, तर, इञ्चार्जहरु तोकिएकाले उहाँहरुले नै कार्यक्रम बनाउनुहुन्छ’, राई भन्छन् ।

अर्थात्, आगामी कार्यक्रम पनि प्रचण्ड र माधव समूहलाई उछिन्नेगरी नै तय हुन सक्छ । किनभने, ओली समूहले काठमाडौंमा उपलब्ध नेता(कार्यकर्तालाई राखेर यहीँबाट सातै प्रदेशको भेला बुधबार नै गरिसकेको छ ।

पुस २५ सम्म वडा तहमा पुग्ने कार्यक्रम घोषणा गरेको प्रचण्ड(माधव समूहले त्यसपछि दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । तर, यो समूहले ओली समूहले जस्तै नेताहरुको कार्यविभाजन भने गरेको छैन । कतिसम्म भने विष्णुप्रसाद पौडेल ओली समूहको महासचिव बनेपछि रिक्त महासचिवको परिपूर्ति समेत हुन सकेको छैन । यो समूहको जोड पहिले वडासम्म विभाजित संरचना निर्माणमा देखिन्छ ।