१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबै दलको सहभागितामा संयुक्त जनआन्दोलन गर्ने प्रस्ताव राखेको छ ।
संसद पुर्नस्थापना हुने गरी सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आशंका व्यक्त गर्दै जसपाले सडकबाटै दवाव आवश्यक भएको निष्कर्ष निकालेको हो । सोही अनुसार संयुक्त जनआन्दोलन गर्ने गरी जसपाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूह र प्रमुख विपक्षी नेपाली कांग्रेससंग सहकार्यको प्रस्ताव राखेको हो ।
पूर्व प्रधानमन्त्री समेत रहेका जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई भन्छन्, ‘संयुक्त जनआन्दोलन बिना यो प्रतिगमन सच्चिनेवाला छैन। राजा महेन्द्रको प्रतिगमन हटाउन ३० वर्ष लाग्यो। पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमन ४ वर्षभित्रै सडकबाटै गुल्ट्यायौँ । ।
केपी ओलीको प्रतिमगनलाई केही वर्ष होइन केही महिनाभित्र उल्ट्याउन सकिने भन्दै उनले संयुक्त जनआन्दोलन आवश्यक रहेको बताए ।
‘कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं’ डा. भट्टराईले भनेका छन् ।
संसद विघटनको विरोधमा जसपाले आइतबार राजधानीमा विरोध प्रदर्शन गरेको थियो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताए ।
‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन । किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा विधि प्रमाण पुर्याउनेतिर जान्छ’ भट्टराईले भने ।
त्यसअघि उनले प्रधानमन्त्री ओलीले चुनाव गराउने भ्रममा नबस्न समेत प्रमुख विपक्षी कांग्रेसलाई आग्रह गरेका छन् ।
‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस्’ भट्टराईको सुझाव छ ।
मध्यावधि चुनावमा जानुपर्ने भनेर कांग्रेसमा एक पक्षले बहस गरिरहेका बेला डा.भट्टराईले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन्– ‘चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’
पञ्चायतमा राजाले चुनाव गर्दा पनि आफूहरु सहभागी नभएको स्मरण गर्दै भट्टराईले भने, ‘पञ्चायतले चुनाव गराएको थियो। भाग लिएनौँ। यो चुनाव विषको घैँटामा माथिल्तिर अलिकति अमृत राखे जस्तो हो। त्यो माथि राखिएको अमृतमा भुल्नुहुदैन। चुनाव भ्रम हो । ओलीले आफूलाई सुदृढ गर्ने आफ्नो सर्वसत्तावादी कायम गर्ने हो। केपी ओलीलाई आफ्नो प्रभुत्व जमाएको अनुभूति हुँदैन। त्यसपछि मात्रै चुनाव हुन्छ।’
प्रचण्ड–नेपाल पक्षले ओली सच्चिएर आए स्वागत गर्न तयार छौं भन्ने गरेको उल्लेख गर्दै डा. त्यस्तो छुट नदिन पनि भनेका छन् ।
र ओली चासिलको दशक देखि नै निरन्तर प्रतिगमनको पक्षमा रहेको टिप्पणी गरेका छन् ।
‘भन्ने कम्युनिस्ट तर अयोध्याको मन्दिर बनाउँछन् । चेपाङको घर जलाएर अर्बौ खर्च गरेर अयोध्यामा मन्दिर बनाउँछन्’ ओलीबारे डा. भट्टराईको टिप्पणी छ ।
‘सभामुखले संसद बोलाउनुपर्छ’
जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले सभामुखले संसद बैठक बोलाउनुपर्ने बताएका छन् ।
अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको बताउँदै उनले तत्काल बैठक बोलाउन सभामुखसँग माग गरे ।
सभामुखले बैठक बोलाए आफूहरुले त्यहीँबाट फैसला गर्ने उनको भनाइ छ ।
‘अत्याधिक सांसदहरु विघटन गलत छन् भन्ने पक्षमा छन् । जनतामा निहित सार्वभौमसत्ता प्रयोग गरेर बैठक बोलाउनुपर्छ र, हामीले फैसला गरौं’ डा. भट्टराईले भने ।
जसपाले यसअघि पार्टीबाट निर्णय गरेर सभामुखलाई संसद बैठक बोलाउन आग्ह गरिसकेको छ। सभामुख अग्नि प्रसाद सापकोटालाई भेटेर पनि जसपाका नेताहरुले यस्तो माग राखिसकेका छन् ।
कति प्रतिगमन भोग्नुपर्ने हो ? : राजेन्द्र महतो
जसपाका नेता राजेन्द्र महतोले नेपाली जनताले पटक पटक प्रतिगमन भोगिसकेको उल्लेख गर्दै अझै कति प्रतिगमन भोग्नुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।
‘केपी ओलीले संविधानमा प्रतिगनम गरे। तर यो पहिलो पटक होइन’m उनले भने, ‘ पहिले राजाले गर्थे, अहिले नयाँ राजाले गरे । फेरि प्रतिगमन, कति प्रतिगमन, कति नेपाली जनताले कति प्रतिगमन भोग्नुपर्ने हो ?’
संविधान बनाउँदा पनि प्रतिगमन भएको उनको भनाई छ । पछिल्लो समयमा ओलीले गरेको प्रतिगमन कुर्सीको लागि भएको उनको टिप्पणी छ ।
अहिलेको कु ०१७ सालको भन्दा निन्दनीय : अशोक राई
जसपाका नेता अशोक राई संवैधानिक र कानुनी दृष्टिकोणबाट ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरे भन्दा अहिलेको संसद विघटन निन्दनीय भएको बताउँछन् । र अहिले ओली पक्षधर भन्दा बाहेक सबै संसद विघटनको विरोधमा रहेको बताउँछन् ।
प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बेलामा संविधानका व्यवस्थाहरु कुल्चिएर संसद भंग उल्लेख गर्दै नेता राईले भने, ‘त्यसैकारण खड्ग प्रहार गर्नेहरुबाहेक सबै यसको विरोधमा छन् ।
प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलमा बहुमत गएको र संसद बोलाउँदा प्रधानमन्त्रीको कुर्सी असुरक्षित हुने भएकाले प्रतिनिधिसभा भंग गरेको उनको आरोप छ ।
असंवैधानिक घोषणा खारेज गर्नुपर्ने र संसदको अधिवेशन तत्काल बोलाउनु पर्ने उनले बताए ।







