सिमसार नासिँदा दुर्लभ प्रजाति सङ्कटमा

माघ, २१ झापा । मुलुककै सबैभन्दा विविधितायुक्त झापाको जलथलको चारकोशे जङ्गलका सिमसार मासिँदै जाँदा वन्यजन्तु र चराचुरुङ्गीका कैयौँ प्रजाति लोप हुने अवस्थामा पुगेका छन् । समुद्र सतहबाट ७० देखि ११५ मिटरको उचाइमा छ हजार ३०० हेक्टरमा फैलिएको जलथल जङ्गल नेपालको सबैभन्दा होचो स्थानको प्राकृतिक जङ्गल हो । यहाँ पहाड र तराई दुवै भागमा पाइने वन्यजन्तु, वनस्पति र चराचुरुङ्गीको बासस्थान छ । रैथाने हात्तीको बासस्थानको रुपमा यो प्रसिद्ध छ । एक वर्षदेखि सो जङ्गलको अध्ययन गरिरहेका फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा लीलानाथ शर्माले नेपालमै दुर्लभ मानिएका बोटविरुवा, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान जलथलको सिमसारसँगै मासिन थालिसकेको बताए ।

यहाँ बाँचेका जीवजन्तुको संरक्षण नगर्ने हो दुर्लभ मानिएका केही प्रजाति लोप हुने उनले चेतावनी दिए । अन्यत्र नपाइने १० प्रकारका वनस्पति जलथल जङ्गलमा अस्तित्वको लडाइमा रहेको र तीमध्ये ६ वटा रुख प्रजाति रहेको शर्माको दाबी छ । “यस जङ्गलमा के के दुर्लभ प्रजाति पाइएका छन् भन्ने खोज पूरा भइसकेको छ”, उनले भने, “‘जर्नल र थेसिसमा प्रकाशित भएपछि यसका बारेमा सर्वसाधारणले चाँडै जानकारी पाउनुहुनेछ ।”

झापाको १८ हजार जङ्गलमध्ये निचाझोडा र जलथलको चारकोशे झाडी मात्र प्राकृतिक वन हुन् । जलथलमा १७० प्रजातिका चरा र १५० प्रजातिका पुतलीको पहिचान भइसकेको उनले जानकारी दिए । सिमसार नासिक ती चरा र पुतली सङ्कटबाट गुज्रिरहेका छन् । सिमसारको संरक्षण गर्न, घाँस दाउराको वैकल्पिक व्यवस्था गर्न र चोरी शिकारी नियन्त्रणमा राजनीतिक प्रतिबद्धता जुटाउन जलथलको जैविक विविधता संरक्षणमा जुटिरहनुभएको डा शर्माले सुझाव दिए ।

जलथल जङ्गल एशियाकै सबैभन्दा जैविक विविधतायुक्त भएको जनाउँदै झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले सिमसार र पर्यावरणको संरक्षणमा एकीकृत गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । सिमसार क्षेत्रको संरक्षण गरी पर्यटक आकर्षण गर्न गुरुयोजनाले मद्दत पुग्ने बताउँदै उनले जङ्गलको बीचबाट सडक बनाउन स्वीकृति दिन नहुने र जङ्गल वरिपरि निर्माण भइरहेको चक्रपथमा पैदल यात्री, साइकल यात्री र राँगागाडीको सवारीलाई मात्र अनुमति दिइनुपर्ने सुझाव राखे। जलथल जङ्गलको मध्यभागमा रहेको पाथिभरा कालिका सामुदायिक वनका अध्यक्ष चिरञ्जीवी पौडेलले चारकोशे जङ्गलमा थाकल, लटर, कटुसजस्ता पहाडी वनस्पति पाइएको र हात्ती, अजिङ्गर, मुसे हरिणलगायत संरक्षित वन्यजन्तु रहेको बताए ।

सिमसार सुकेपछि सुख्खा याममा पानी पिउन नपाएर वन्यजन्तु र चराचुरुङ्गी काकाकुल हुने गरेको उनले बताए। अध्यक्ष पौडेलले चैत वैशाखका बेला डढेलोले दुर्लभ अजिङ्गर मर्ने गरेको हुँदा तत्कालै ठूला पोखरी खनेर पानी भर्न बजेटको अभाव भएको बताए । जलथल जङ्गलको उत्तरी सीमा जोडिएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जलथल जङ्गलको जैविक विविधता जोगाउन जङ्गलभित्र मानव प्रवेश र गतिविधिलाई निषेध गरिनुपर्ने बताए ।

“सामुदायिक वनहरुको ध्यान सखुवाको काठमा मात्र हुनुहुँदैन, अन्य कयौँ दुर्लभ वनस्पति लोप भएर नासिन लागिसके”, जङ्गलमा चोरी तस्करी बढिरहेको उल्लेख गर्दै हल्दिबारीका अध्यक्ष लिङ्देनले भने, “यहाँको बँदेल शिकार गरेर विर्तामोडसम्म मासु पठाउन थालिएको छ, मयुरका अण्डा र सालकका खबटा तस्करी भइरहेको छ ।” वन्यजन्तु र चराचुरुङ्गीको जीवनको आधार नै सिमसार भएको हुँदा उहाँले स्काभेटर लगाएर कृत्रिम पोखरी खनाउनुभन्दा जङ्गलका प्राकृतिक सिमसारको संरक्षणमा जोड दिनु उचित हुने बताए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले मुलुककै होचो स्थानमा रहेको जलथलको जङ्गल जैविक विविधताका कारण अरुभन्दा भिन्न भएको बताए । उनले दुर्लभ प्रजातिको सूची तयार पारेर रामसारमा सूचीकृत गर्न सकिने बताए।

जलथल जङ्गल क्षेत्रमा हल्दिबारी, बाह्रदशी र कचनकबल गाउँपालिका पर्दछ भने भद्रपुर नगरपालिकाले पूर्वतिर छोएको छ । यस जङ्गलमा २२ वटा सामुदायिक वन दर्ता भइसकेका छन् । वरिपरि सामुदायिक वन उपभोक्ता समिति सक्रिय भए पनि जङ्गलमा काठ तथा वन्यजन्तुको चोरी शिकारी नरोकिएको स्थानीवासी बताउँछन् ।

विसं २०६४ मा शिकारीले मारेको मुसे हरिण आफ्नै आँखाले देखेको बताउनु हुने हल्दिबारी गाउँपालिका वडा नं ४ का ५६ वर्षीय श्याम मेचे अहिले पनि खोजी गर्ने हो भने मुसे हरिण अस्तित्वमा रहेका दाबी गर्नुभयो । बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधि रहनुभएको जिल्ला वन उपभोक्ता महासङ्घका उपाध्यक्ष प्रेम घिमिरेले स्थानीय र प्रदेश सरकारबाट वन संरक्षणमा बजेट नआएको गुनासो गरे । दुई दशक अघिसम्म जलथल जङ्गलमा बाहैमास पानी बग्ने खोल्सा र सिमसार क्षेत्र देखेको बताउनुहुने घिमिरेले वन क्षेत्रमा पर्यटकीयस्थलको विकास गर्ने नाममा कङ्क्रिटका संरचना बनाउने र मानिसको अत्याधिक चहलपहल बढ्ने भएका कारण प्राकृतिक वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान बिथोलिएको बताए ।

जलथलभित्र पुराना र ठूला रुख मासिएका छन् । लटर, साज, कटुसजस्ता चिरपरिचित वनस्पति जथभावी काटिएका छन् । पछिल्लो समय माइकेनिया नामको मिचाहा प्रकृतिको पाहुना झारले जलथलको सिमसार र खालीखाल्सा अतिक्रमण गरेर ढाकेको छ । स्थानीय भाषामा प्याङ्ग्री भनिने मिचाहा झारलाई नियन्त्रण गर्न फरेस्ट एक्सन नेपालसँग साझेदारीमा स्थानीय सामुदायिक वनले परियोजना सञ्चालन गरिरहेका छन् ।

हरिण, चित्तल, खरायो, खिरखिरे, बँदेलजस्ता वन्यजन्तुलाई पछिल्लो समय हुल बाँधेर जङ्गल पस्ने गरेका कुकुरको जत्था चुनौती बनेका छन् । उनीहरुले शिकार गर्न पल्केका ती कुकुर नियन्त्रण गरिनुपर्ने माग गर्दै आएका छन् । जलथलको सिमसार संरक्षणमा सबैले हातेमालो गर्न आवश्यक रहेको झापाका स्थानीय समन्वय अधिकारी रुद्र न्यौपानेले बताए । उनले यस वर्षको विश्व सिमसार दिवसको नारा ‘सिमसार र पानी’ भएको उल्लेख गर्दै पहाड र तराईको विशेषता बोकेको जलथल सिमसार क्षेत्रको उचित संरक्षणमा समुदाय र सरकारबीच साझेदारीको मोडेलमा कार्यक्रम ल्याइनुपर्ने धारणा व्यक्त गरे ।

जलथल रैथाने हात्तीको बासस्थान पनि हो । झापामा डुलिरहने १२ वटामध्ये अधिकांश हात्तीले जलथललाई बस्ने थलो बनाएका छन् । मानव–हात्ती द्वन्द्व कम गर्न हात्तीलाई साथी बनाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए । जलथल जङ्गलको वरिपरि ५० फिटको फराकिलो चक्रपथ निर्माणका लागि हल्दिबारी गाउँपालिकाले पहल शुरु गरेको छ । जङ्गलको संरक्षणका साथै पर्यावरणमैत्री सडक निर्माणका लागि यस वर्ष रु एक करोड बजेट गाउँपालिकाले छुट्याएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।