एचआइभी सङ्क्रमित बालबालिकालाई पढाउन ठोस योजना ल्याउँछौँः मन्त्री श्रेष्ठ

फागुन, ५ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले एचआइभी सङ्क्रमित बालबालिकालाई पढाउनका लागि सरकारले ठोस योजना ल्याउन लागेको बताएका छन् ।

कीर्तिपुरको भत्केपाटीस्थित ‘सफलता एचआइभी शिक्षा सदन’ ले मंगलबार आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उहाँले एचआइभी सङ्क्रमित बालबालिकाको पठनपाठनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। “सङ्क्रमित बालबालिका पढाउने दायित्व राज्यको हो, हामी त्यसका लागि चाँडै योजना ल्याउँदैछौँ”, उनले भने ।

मन्त्री श्रेष्ठले सङ्क्रमित बालबालिकालाई उच्च शिक्षा आवश्यक रहेको चर्चा गर्दै अहिलेको अवस्थामा सहज नभएको उल्लेख गरे । सङ्क्रमित बालबालिकाको पठनपाठनको विषय सरकारले नीति तथा कार्यक्रममै उल्लेख गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले आगामी आर्थिक वर्षमा त्यसलाई समावेश गरिने बताए । “शिक्षामा नयाँ परिवर्तनको खाँचो छ, कार्यदल बनाएर योजना अघि बढाउँछौँ”, उनले भने । सङ्क्रमित बालबालिका अझै पनि समाजका अपहेलित हुनुपरेको र त्यसको अन्त्य जरुरी भएको उनको भनाइ थियो ।

समाजमा एचआइभी सङ्क्रमित लुकेर बस्न नहुनेमा जोड दिँदै मन्त्री श्रेष्ठले आफ्नो परिचय खुलाउँदै अघि बढ्न सुझाव दिए । “सरकार एचआइभी सङ्क्रमितको साथमा छ, सरकारले अभिभावकको जिम्मेवारी निर्वाह गर्छ”, उनले भने । सरकारले सातवटै प्रदेशमा एचआइभी सङ्क्रमित बालबालिकालाई पठनपाठनका लागि योजना ल्याउने मन्त्री श्रेष्ठले उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ‘सफलता एचआइभी शिक्षा सदन’ सञ्चालनका लागि रु एक करोड उपलब्ध गराइएको सो अवसरमा मन्त्री श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्यले शिक्षा सदनको भ्रमण गरी जानकारी लिनुभएको र ततपश्चात् अध्ययनरत सङ्क्रमित बालबालिकालाई जनही रु तीन हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइँदै आएको उनले स्पष्ट पारे ।

सो अवसरमा सफलता एचआइभी शिक्षा सदनका संस्थापक अध्यक्ष राजकुमार पुन र उपाध्यक्ष उमा गुरुङले सङ्क्रमित बालबालिकाको अवस्थाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । पुन र गुरुङ मिलेर आफ्नै लगानीमा ११ वर्ष अघि भत्केपाटीमा आठ आना जग्गामा दुई तले भवन निर्माण गरी उक्त शिक्षा सदन सञ्चालन गरेका हुन् । हाल यहाँ देशका विभिन्न जिल्लाबाट ल्याइएका २७ सङ्क्रमित बालबालिका अध्ययन गरिरहेका छन् । उत्तल सदनमा दश कक्षासम्मको पठनपाठनको व्यवस्था गरिएको छ ।

“उच्च शिक्षा अध्ययन गर्नका लागि बालबालिकालाई मुश्किल भएको छ”, संस्थापक अध्यक्ष पुनले भने । उच्च शिक्षाका लागि सरकारको सहयोगको आवश्यकतामा उनले जोड दिए। एचआइभी सङ्क्रमित बालबालिकालाई भर्ना गर्न शिक्षण संस्थाले आनाकानी गर्दै आएको उनको भनाइ थियो । शिक्षा सदनकी संस्थापक उपाध्यक्ष गुरुङले एचआइभी सङ्क्रमित बालबालिका शिक्षाबाट वञ्चित भएको र त्यसका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । “सङ्क्रमित बालबालिकाले आफ्नो परिचय दिएरै पढ्न पाउने वातावरण बनेको छैन, अपमानित भएर बस्नु परिरहेको छ’”, उनले बताए ।

सो अवसरमा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनकाजी महर्जन, नेकपाका कीर्तिपुर नगरकमिटी अध्यक्ष राधाकृष्ण बस्नेत, इनरह्वील नेपालकी पूर्व ‘डिस्टिक चेयरम्यान’ सुनी जोशी र नेपाल पौडी सङ्घका कोषाध्यक्ष नाजिर उदीनले ‘सफलता एचआइभी शिक्षा सदन’लाई नगद रु ४५ हजार सहयोग प्रदान गरेका थिए ।