न्यायाधीशको प्रश्न- संविधान लेख्दा सहमति नभएको विषय अन्तरनीहित छ भन्ने हो भने संविधान कहाँ गएर टुङ्गिन्छ होला ?

फागुन, ६ काठमाडौं । एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार हुने बताएका छन् ।

सर्वोच्च अदालतको संवैधनिक इजालसमा उनले प्रस्तुत गरेको राय अनुसार सत्तारुढ पार्टीमा द्वन्द्ध भएमा, सरकार र संसदका बीचमा द्वन्द्ध भएमा,पार्टी र सरकारको बीचमा द्वन्द्व भएमा पनि संसदीय शासन पद्धतिमा प्रतिनिधिसभा विघटन हुन सक्छ ।

यस्तो अभ्यास रहेको भन्दै उनले उदाहरणका रुपमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र मनमोहन अधिकारीले पनि पार्टीभित्रको विवादका कारण संसद् विघटन गरेको बताए ।

राजनीतिक रुपमा समस्यामा परेपछि प्रधानमन्त्रीमा दुई विकल्प रहने उनको भनाई छ ।

‘कि राजीनामा दिएर अर्को आउने बाटो खोलिदिने कि विघटन गर्ने हो । राजनीतिक रुपमा आफ्नो भविष्य देख्नेले दोस्रो विकल्प बढ्ता रोज्दछन् । किनभने राजनीति गर्ने मान्छेले मैले काम गर्न सकिन भनेर भन्दैन’ उनले भने ।

यस्तो अभ्यास अन्र्तराष्ट्रिय रुपमा समेत रहेको भन्दै उनले बिभिन्न देशका उदाहरण दिए ।

संविधानले विधायिकी अधिकार संसदलाई दिएको र कार्यकारिणी अधिकार प्रधानमन्त्रीलाई दिएको भन्दै उनले प्रधानमन्त्रीमा अवशिष्ट अधिकार सम्बन्धी व्यवस्था संविधानको धारा ७४, ५७, ५८ मा रहेको बताए ।

त्यसपछि न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न गरे, ‘संविधानको धारा ७५ ले के भन्छ ? कार्यकारिणी अधिकार संविधान र कानुनको अनिधमा रही भन्नेलाई कसरी लिनुहुन्छ ?

जवाफमा मैनालीले संविधानले प्रधानमन्त्रीलाई अवशिष्ट अधिकार दिएको बताए ।

‘संविधान हेर्नै पर्दैन, संविधानको ब्याख्या कसरी गर्ने भन्ने हो’ मैनालीले भने, ‘ प्रधानमन्त्रीलाई अवशिष्ट अधिकार छ ।’

सिन्हाले फेरि सोधे, ‘अधिकार छ कि छैन भन्ने भन्दा पनि संविधानले दिएको छ कि छैन ?’

जवाफमा मैनाली फेरि विघटको कारणहरुमा गए । कुनै देशमा अटोमेटिक विघटन हुने, कुनै देशमा के हुने भन्दै त्यसमैमा केन्द्रीत हुन खोजे ।

इजालसबाट फेरि प्रश्न आयो, ‘अहिलेको अवस्था सरकारलाई सहयोग गरेको, बजेट पास नगरिदिएको, विधेयक पास नगरिदिएको के छ ?’

जवाफमा मैनालीले पार्टी भित्रको द्धन्द्धका कारण काम गर्न नपाएको प्रधानमन्त्रीले सर्वोच्चलाई बुझाएको लिखित जवाफमा उल्लेख गरेको सुनाए ।

फेरि सोधियो, ‘प्रतिनिधिसभा विटनमा किन सरोकार रहन्छ पार्टीको समस्या ?’

जवाफमा मैनालीले पार्टीले सरकार चलाउने भएका कारण पार्टीको समस्या सरकारमा पर्ने बताए ।

‘हरेक दिन मिटिङ, कहिले सचिवालय बैठकm कहिले स्थायी समिति हामीले त्यो देख्यौं । यसले पार्टी भित्र द्धन्द्ध रहेको देखिन्थ्यो’ उनले भने ।

काम गर्न नसकेपछि संसदीय शासन पद्धतिको प्रधानमन्त्रीले जनतामा गएर सोध्ने अधिकार हुने उनको राय छ ।

त्यसपछि न्यायाधीश अनिल सिन्हाले सोधे, ‘विघटन गर्न पाउने भन्ने सम्बन्धमा संविधान बनाउँदाको मस्यौदामा केही छ ?’

जवाफमा मैनालीले छलफल भएको बताए ।

सिन्हाले फेरि सोधे, ‘विधायिकी मनासाय के थियो ?

जवाफमा मैनालीले छलफल भएको र संसदीय शासन पद्धति अवलम्बन गरिएको बताए । तर, ०४७ को जस्तो तोकेरै नलेखिएर अन्तरनीहित अधिकारका रुपमा छोडिएको बताए ।

सिन्हाले फेरि सोधे, ‘सहमति थिएन भने, सहमति नभएको विषय पनि संविधानमा छ भन्ने हो भने यो संविधान कहाँ गएर टुङ्गिन्छ होला ?

जवाफमा मैनालीले भने, ‘जुन सिस्टम राख्यौं त्यसमा संसद विघटनको अधिकार हुन्छ ।’

संसदीय पद्धति अपनाएका कारण विधायिकाले प्रतिनिधिसभा विघटनको परिकल्पना गरेको उनको भनाई छ ।