फागुन,२६ कर्णाली । नेकपा एमाले पुनःस्थापित भएपछि कर्णालीका विभिन्न जिल्लामा नेकपाको नाममा रहेका कार्यालयका साइनबोर्ड हटाउन थालिएको छ । सुर्खेतसहित कर्णालीका दैलेख, कालीकोटलगायत जिल्लामा पनि नेकपाको नाम मेटाउँदै ‘नेकपा (एमाले)’का नाममा नामपाटी राख्न थालिएको हो ।एमाले सुर्खेतले मंगलबार देखि जिल्ला पार्टी कार्यालय सञ्चालन गरेको छ । वीरेन्द्रनगर–६ हटियालाइनस्थित ऋषि स्मृति भवनमा रहेको नेकपाको साइनबोर्ड हटाउँदै ‘नेकपा (एमाले)’ लेखिएको बोर्ड राखिएको हो । एमाले कार्यकर्ताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित नामपाटी राखेका छन् । नेकपा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम खारेज गरेपछि यी दुई पार्टी ब्यूँताएका हुन् । पार्टी कार्यालय सञ्चालनपछि एमाले कार्यकर्ताले नाचगान गर्दै खुसीयाली मनाएका थिए ।
नेकपा दाहाल–नेपाल समूहमा रहेका तत्कालीन एमालेका पार्टी सचिव मोहन बडुवालले पुराना तिक्तता बिर्सिएर पुनः सङ्गठन निर्माणमा जोड दिनुपर्ने बताए । पार्टीलाई थप एकताबद्ध गराउन छिट्टै जिल्ला कमिटीको बैठक राख्ने उनको भनाइ छ । एमाले पुनःस्थापित भएपछि बडुवाल एमाले सचिवको हैसियतमा कामकाज थालनी गरेका छन् । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख एवं अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य मोहनमाया ढकालले विगतका मनमुटाव बिर्सेर पार्टी पुनःनिर्माणमा लाग्नुको विकल्प नभएको विचार व्यक्त गरे ।सिमकोट-हुम्लाको सदरमुकाम सिमकोटमा तीन वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । जिल्लामा उपलब्ध नेकपाका एमालेका नेता तथा कार्यकर्ताको उपस्थितमा मंगलबार एक कार्यक्रमका बीच पार्टी कार्यालयको स्थानपनासँगै बोर्ड राखिएको छ ।
सचिवालय सदस्य तथा जिल्ला कमिटीका सदस्य नरबहादुर रोकायाको सभापतित्वमा र नेकपा एमालेका पूर्वजिल्ला कमिटी सदस्य डबल रावतको प्रमुख आथित्तमा पार्टी कार्यालयको पुनःस्थापना गरिएको हो । सर्वोच्च अदालतको फैसलापछि नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) ब्यूँताएपछि नेकपा एमाले जिल्ला कमिटी हुम्लाको कार्यालय पुनःस्थापना गरिएको सचिवालय सदस्य बुध भण्डारीले जानकारी दिए । मंगलबार भएको पार्टी पुनःस्थापना कार्यक्रममा एमालेका पूर्व तथा अहिलेका जिल्ला कमिटी सदस्यसहित कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो ।
बझाङ- पुनःस्थापित एमालेका नेता कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका छन् । सदरमुकाम चैनपुर पानकोटस्थित पार्टी कार्यालयमा टाँसिएको नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको नयाँ बोर्ड राखिएको विद्यार्थी नेता पुष्पलाल रोकायाले जानकारी दिएका छन् ।एमालेका अध्यक्ष दिलबहादुर सिंहको नेतृत्वमा गएको टोलीले नेकपा लेखिएको साइनबोर्ड हटाएर नयाँ टाँसेका छन् । अदालतको फैसलाको समर्थनमा अनेरास्ववियुले बुंगल नगरपालिकालगायत ठाउँमा दीपप्रज्वलनसमेत गरेको र तेस्रो दिन पार्टी कार्यालयमा बोर्ड टाँसेको हो । नेकपा एमाले र माओवादी केन्द्र एकता हुनुपूर्व यो भवनमा एमालेकै पार्टी कार्यालय थियो ।
डोटी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीको सिलगढीस्थित पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइनबोर्ड फेरेर मंगलबार एमालेको बोर्ड राखिएको हो ।सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि एमालेकै थियो । नेकपा एकीकरणपछि सोही भवनमा कार्यालय सञ्चालन हुँदै आएको थियो । मंगलबारदेखि कार्यालय पनि सञ्चालनमा आउने एमालेका जिल्ला कमिटी सदस्य रामबहादुर ऐरले बताए । ताप्लेजुङ- यसअघि स्थापित नेकपाको कार्यालयमा एमालेको बोर्ड राखिएको छ । ओलीले प्रतिनिधिसभमा विघटनको निर्णय गरेपछि दाहाल- नेपाल समूहका नेता कार्यकर्ताले पहिलेकै पार्टी कार्यालय प्रयोगमा ल्याएका थिए भने ओली निकट समूहले छुट्टै कार्यालयको स्थापना गरेको थियो ।







