जसपा विवादः समाधान गर्न गठित निर्वाचन आयोगको इजलास आज बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न गठित निर्वाचन आयोगको इजलास आज बस्दै छ।

यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवै पक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो। दुवै पक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ। आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ।

आयोगको कानुन महाशाखाका अनुसार दुवै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको छ। बैठकको तरिका र कागजातमा दुवै पक्षबाट आ–आफ्नो दाबी गरिए पनि पार्टीको विधिअनुसार दुवैको प्रक्रिया मिलेको नदेखिएको आयोग स्रोतले जनाएको छ।