बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

कात्तिक, १४ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउनुभएको छ ।

ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहेका उनले नेपालप्रतिको बेलायती सांसदहरूले देखाउनुभएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको बताए ।

नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले कठिन समयमा पनि नेपाललाई साथ दिएकामा बेलायती सांसदहरूप्रति आभार व्यक्त गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

विभिन्न अवसरमा बेलायतको संसद्मा नेपालप्रति व्यक्त गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै प्रधानमन्त्री देउवाले कठिन समयमा प्रस्तुत सद्भाव र ऐक्यबद्धताले नेपालका असल मित्रहरू रहेका विषयको सुखद स्मरण गराउँछ भने ।

सर्वदलीय संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड शेख, लगानी मञ्चका अध्यक्ष लर्ड ल्याङकास्टर र सांसद क्याथरिन वेस्टले बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए।

आजै प्रधानमन्त्रीले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिहरूलाई भेट्नुहुनेछ भने लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नुहुने स्वागत समारोहमा उनी सहभागी हुनुहुने कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । आजै प्रधानमन्त्री एडनबरा हुँदै अपराह्न स्कटल्याण्डको ग्लास्गो पुग्नेछन् ।