प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आजबाट बारको चरणबद्ध आन्दोलन

कात्तिक, १४ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आजदेखि नेपाल बार एसोसिएसनले चरणवद्ध आन्दोलन सुरु गर्दैछ ।

बार एसोसिएसनको शुक्रवार बसेको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

एसोसिएसनले आज र आजदेखि १५, १६ र १७ गतेका दिन प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधि सर्वोच्च अदालतमा विरोधका कार्यक्रम गर्ने भएको हो ।

बारले बिरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार इकाइका कानुन व्यवसायी लगायत सम्पूर्ण कानुन व्यवसायीहरुलाई अनुरोध गरिसकेको छ ।

त्यसैगरी कार्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको कार्यक्रम रहेको छ ।
बारले यति विरोधका कार्यक्रम गर्दापनि प्रधानन्यायाधीश जबराको राजिनामा नआएमा विरोधका थप कार्यक्रमहरु घोषणा गर्ने जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न नसकेको, मन्त्रिपरिषद्मा र संवैधानिक आयोगहरुमा भाग खोजेको र न्यायालयमा प्रत्यक्ष राजनीतिक हस्तक्षप भएका कारण नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिनुपरेको बारको भनाई छ ।