सल्यानमा बस दुर्घटनाः १२ जनाको मृत्यु

कात्तिक, २१ सल्यान । सल्यानमा बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी छ जनको घटनास्थलमा र अन्यको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा दुईजना बालबालिका पनि छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक गोविन्द थापाले जानकारी दिए ।

बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले मृतक तथा घाइतेको विवरण सङ्कलन गरिरहेको जनाएको छ । दुर्घटनाका कारण खुलिसकेको छैन् ।