कर्णाली प्रदेशमा बेथिति : एक दिन बिदा लिएर कर्मचारी सात दिन आउँदैनन् कार्यालय

१२ फागुन, जाजरकोट । एक दिन बिदा मागेर हप्ता दिनसम्म जिल्ला कार्यालयमा कर्मचारी हाजिर नहु्ने समस्याले सेवाग्राही मारमा परेका छन् । कर्णाली प्रदेशका विकास तथा अन्य कार्यालयका कर्मचारीहरू मन्त्रालयमा जिल्लामै रहेको देखाउँदै व्यक्तिगत काममा समय बिताउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई जिल्ला छाड्दा जानकारी दिएर जानुपर्ने भए पनि आफूखुसी जिल्ला छाडेर व्यक्तिगत काम गरिरहेको पाइएको छ । प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जुम्लास्थित खानेपानी तथा ऊर्जा विकास कार्यालयका प्रमुख अनुप श्रेष्ठ हप्ता दिनदेखि जिल्ला बाहिर छन् ।

त्यस्तै सामाजिक विकास कार्यालय जाजरकोटका खिमप्रसाद ढकाल पनि चार दिनदेखि व्यक्तिगत काममा छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा यसबारेमा कुनै जानकारी छैन ।

१० जिल्लाका कार्यालय प्रमुखहरू जिल्ला छोड्दा अनिवार्य रुपमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने पर्ने भए पनि कसैले पनि नमानेको सम्बन्धित् जिल्लाका अधिकारीको गुनासो छ । प्रदेश कार्यालयबाट विभिन्न विवरण माग्दासमेत कार्यालय प्रमुखको फोन नउठाउने, अफ गरेर बस्ने र कामप्रति जिम्मेवारी बोध नगर्ने पाइएको छ ।