२३ असार, काठमाडौं। विहीबारबाट काठमाडौं उपत्यकामा साझा यातायातको तीन वटा विद्युतीय बस संचालनमा आएका छन्।
साझाले यी विद्युतीय बसहरुलाई तीन महिनादेखि परीक्षण गरिरहेको थियो। उक्त बस परीक्षण गर्दा समस्याहरु नदेखिएपछि उपत्यकामा पूर्णरुपमा संचालन गर्न थालिएको हो। साझाले विहीबार विहान ११ बजे पुल्चोकस्थित कार्यालयबाट यी विद्युतीय बसहरुको साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन्।
साझाले यसलाई प्रति बस एक करोड ५० लाख रुपैयाँमा खरिद गरेको हो। यसैगरी कम्पनीले कुल ४० वटा विद्युतीय बसहरु ल्याउनुपर्ने जिम्मा पाएकोमा अझै ३७ बस ल्याउन बाँकी रहेको छ। सरकारले साझालाई ३०० वटा विद्युतीय बस ल्याउन तीन अर्ब पैसा समेत प्रदान गरिसकेको छ।
साझाले यी तीन वटै बसमा महिला चालक र सहचालकको व्यवस्था गरेको छ। हाल साझाले चार जना गाडी चालक र पाँच जना सह-चालकको व्यवस्था गरिएको छ। चालक र सह-चालकहरुलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम पनि दिईएको साझाले बताएको छ। यो गाडीमा २५ जना भन्दा धेरै सिटहरु उपलब्ध रहेका छन्।
सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो। जुन वृद्ध, अशक्त र बालबालिकाका लागि उपयोगी मानिन्छ। पुरानो डिजेल बस जस्तै यो बस पनि अपांगमैत्री छ। यी बसहरुमा अपांग भएका मानिसहरु ह्वीलचियर मै चढ्न सक्छन्। यसमा अरु फिचर भनेको पहिलेकै साझा बसमा भएको टीभी, सीसी क्यामेरा र वाइफाइ कनेक्टीभीटीको सुविधा छ।
यो विद्युतीय बसमा १६१ किलोवाट क्षमताको ब्याट्री प्याकमा १६५ किलोवाट मोटर जडान गरिएको छ। यो बसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा २०० किलोमिटरसम्मको दुरी पार गर्न सकिन्छ। यसले १८ प्रतिशतसम्मको उकालो चढ्न सक्ने साझा यातायातका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर गौरवराज पाण्डेले बताए। उनका अनुसार चार्जिङ स्टेसन र पार्किङको लागि सरकारसँग जग्गाको माग गरिएको बताउँछन्। हाललाई त्यही साझाको कार्यलयमै चार्जिङ स्टेसन र पार्किङको व्यवस्था गरिएको पनि उनको भनाइ छ।
यस्तै बिजुली बस प्रवर्दनको लागि साझा यातायातले सरकार बाट राम्रो सहयोग पाएको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित बताउँछन्। ‘हामीले काठमाडौं उपत्यकाका लागि ४० वटा विद्युतीय बसको आपूर्ति, डेलिभरी र मर्मतसम्भारका लागि चीनको सीएचटीसी(नान्जिङ) अटोमोबाइल कम्पनीसँग सम्झौता गरेका छौं,’ उनले भने, ‘सोही बमोजिमको परीक्षण र पहिलो चरणको लागि संचालन गर्न यी तीन वटा विद्युतीय बस नेपाल ल्याइएको र सबै प्रक्रिया सम्पन्न गरी आजबाट सञ्चालन गरिएको छ।’
यी विद्युतीय बसहरु अहिलेको लागि दुई वटा रुटमा संचालन हुनेछन्। जसमा नयाँ बसपार्क-बालाजु-ठमेल-रत्नपार्क-सिंहदरबार-बानेश्वर-मीनभवन हुँदै एयरपोर्टसम्म दुईवटा र अर्को लगनखेल-लैनचौर-बाँसबारी हुँदै बुढानिलकन्ठसम्म एउटा बस संचालन हुनेछन्।







