५ साउन, काठमाडौं । बिहिवार नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भएको भेटवार्तामा ठाकुरले नागरिकता विधेयक सदनमा लगेकाले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।
उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक संसदमा लगेकामा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भेटेका क्रममा धन्यवाद दिएको सो पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले बताए ।
ठाकुरले भने, ‘प्रधानमन्त्रीजीले नागरिकता विधेयक सदनमा लग्नुभएको छ, त्यसको लागि हामीले धन्यवाद दियौँ ।’ सो विधेयक चाँडै पारित हुने प्रधानमन्त्री देउवाले विश्वास दिलाएको उनले बताए ।
त्यसैगरी, जेलमा रहेका रेशम चौधरीलगायतका बन्दी रिहाइ, लगाइएको झुठा मुद्दा फिर्ताको विषयमा पनि कुराकानी भएको उनले बताए। उनले भने, बन्दी रिहाइ, मुद्दा फिर्तालगायतको विषयमा सरकारले अध्ययन थालिसकेको छ, केही दिनमै त्यसको टुंगो लगाउने कुरा पनि प्रधानमन्त्रीज्यूले भन्नुभएको छ ।’ थप अरु कुनै विषयमा कुराकानी नभएको उनले दाबी गरे ।
भेटको क्रममा प्रधानमन्त्री देउवाले भने अहिलेका सत्ता गठबन्धनमा सहभागी हुनका लागि ठाकुरलाई आग्रह गरेका छन् । ठाकुरले भने लोकतान्त्रिक गठबन्धन बनाए त्यसमा आफ्नो दल सहभागी हुने जवाफ दिएको बताएका थिए ।







