मुम्बई उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्समा आतंकवादी रहेको सूचनापछि यात्रुलाई ओरालियो

१८ साउन, काठमाडौँ । मुम्बई प्रस्थान गर्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा थिए । श्रीमान् श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

बुधबार दिउँसो १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० विमानमा कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ

ढोका बन्द भएर उडान भर्नै लाग्दा सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको हो । जहाज उड्न कम्तीमा २ घण्टा लाग्ने र सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने एयरलाइन्सले जानकारी दिएको छ ।